गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा पुर्याएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो ।
आयोगका अनुसार यसअघि स्वीकृत कार्यतालिका अनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।
२०८२ माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको र अन्य प्रदेशमा ढुवानी कार्य जारी छ । मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको छ । त्यस्तै स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालन भइरहेको छ । यो कार्यक्रम फागुन १७ गतेसम्म ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन गरिने छ ।
अहिले हरेक वडामा एक एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित छन् । आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता पुनले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायत संयन्त्रहरूले सक्रिय रूपमा कार्यसम्पादन गर्दै आएको पनि आयोगले जानकारी दिएको छ ।
यसबिचमा २०८२ फागुन ४ गतेबाट राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरिसकेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको आयोगले जनाएको छ ।
निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगले ३४५ वटा सामग्री आफ्नो आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखेको छ । यसबाट मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।
यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्धन र नागरिक तथा आमसरोकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको रहेको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता श्रीसले जानकारी दिनुभयो ।
साथै मतदाता शिक्षा कार्यक्रम प्रवर्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडियो सन्देश, गीति सन्देश, लघु भिडियो तथा जिङ्गलहरू प्रसारण सुरु गरेको छ । निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरिसकेको छ ।
सात दल र ८६७ उम्मेदवारले खोले बैङ्क खाता
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ । आयोगका अनुसार हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैङ्क खाता खोली सोको जानकारी सम्बन्धित कार्यालयमा गराएका छन् ।
४१ दलले सार्वजनिक गरे घोषणापत्र
आयोगका अनुसार २०८२ फागुन ३ गतेभित्र ४१ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । यसअघि आयोगले घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्देशन दिएको थियो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया जारी राखेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील छन् ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा ५२ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।
हानिकारक सूचना पहिचान र कारबाही
हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको आयोगले जनाएको छ । साथै ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एउटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको पनि आयोगका सहायक प्रवक्ता श्रीसले बताउनुभयो ।