डाक्नेश्वरी (सप्तरी), फागुन ८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर फेरि मधेसी जनतालाई गुलाम बनाउन चाहेको बताउनु भएको छ ।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ स्थित पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधीहरूबाट सचेत रहन मधेसी जनतालाई आग्रह गर्नुभयो ।
मधेस जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्न षड्यन्त्र भइरहेको बताउँदै अध्यक्ष यादवले भन्नुभयो, “सङ्घीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर फेरि मधेसी जनतालाई गुलाम बनाउन चाहेका छन् । मधेसी, महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर गुलाम बनाउन चाहेका छन् ।”

कांग्रेस र कम्युनिस्टको इच्छाविपरीत देशमा सङ्घीयता आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कांग्रेस-कम्युनिस्टले सङ्घीयता चाहेकै थिएनन् । आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी जो सङ्घीयता र प्रदेश खारेजीको पक्षमा छ, अहिले विभिन्न आवरणमा मधेसी जनताको मत तान्नका लागि भ्रममा पारिरहेका छन् ।”
गत निर्वाचनमा प्रदेश सभामा उम्मेदवारीसमेत नदिएको रास्वपाको भूलभुलैयामा नपर्न उहाँले आग्रह गर्नुभयो ।
हरेक राजनीतिक परिवर्तनमा सप्तरीले निर्णायक भूमिका निर्वाह गरे पनि सरकारको विभेदकारी नीतिका कारण अपेक्षाकृत विकास हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । गरिबी, बेरोजगारी, अशिक्षा, बाटोघाटो, गुणस्तरीय शिक्षा र स्वच्छ खानेपानीको अभाव अझै कायम रहेको बताउँदै अध्यक्ष यादवले भन्नुभयो, “अहिलेसम्मको अवस्था हेर्दा सही जनप्रतिनिधि चुन्ने बेलामै गल्ती गर्ने गरिएको पाइएको छ । न विकास गर्ने, न अधिकारका लागि बोल्ने प्रतिनिधि चुनिएका कारणले पनि सप्तरी अगाडि बढ्न सकेको छैन । अर्कोतर्फ विकासको लहर ल्याउने नेतालाई पनि विगतमा पाखा लगाउने काम भएको छ ।”
प्रतिनिधि चयन गर्ने क्रममा नचुक्न आग्रह गर्दै अध्यक्ष यादवले आफू सप्तरी क्षेत्र नं. २ बाट चुनाव जित्दा विराटनगरभन्दा पनि ठुलो र सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक र विद्यालय भवन लगायतका कामहरू अगाडि बढाएको दाबी गर्नुभयो ।
त्यसलाई पूर्णता दिन र थप कायापलट हुने कामहरू अगाडि बढाउन आफूलाई निरन्तरता दिनुपर्नेमा जनता चुकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “त्यतिबेला जे जति काम गरेँ, त्यसपछिका जनप्रतिनिधिले कुनै काम अगाडि बढाएनन्, बरु कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्न जाँदा अवरोध पुर्याउने काम भयो । अहिले पनि उक्त भवनको रकम निकासा हुन सकेको छैन ।”
हावाको पछि नलाग्न आग्रह गर्दै विगतको कामको समेत मूल्याङ्कन गरेर मतदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी निर्वाचन संविधान संशोधन गरेर सङ्घीयतालाई अधिकारसम्पन्न बनाउनुका साथै मधेसी लगायत उपेक्षित, उत्पीडित जनताको भविष्य लेखिने भएकाले गम्भीर हुन उहाँले आम मतदातासँग आग्रह गर्नुभयो ।
शुक्रबार नै डाक्नेश्वरी नगरपालिकाको प्रवाहा, धामी टोल, भीमपुर, बिसहरिया लगायतका स्थानहरूमा आयोजित सभाहरूमा अध्यक्ष यादवले सम्बोधन गर्नुभएको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभएको छ ।