• ८ फागुन २०८२, शुक्रबार

बाँके र बर्दियाको पर्यटन प्रव‍र्धनका लागि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव

blog

नेपालगन्जबाट सुरु गरिएको साइकल र्‍याली । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन ८ गते । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्येश्यका साथ नेपालगन्जमा ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । 

नेपालगन्ज साइकलिङ क्लबको आयोजनामा शुक्रवारदेखि सुरु भएको सो महोत्सवका सहभागी नेपाल र भारतका २५० बढी साइक्लिस्टले बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्ने छन् । यस क्षेत्रमा साइकलिङलाई प्रवर्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको नेपालगन्ज साइकलिङ क्लबका निवर्तमान अध्यक्ष प्रदीप सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार महोत्सवको पहिलो दिन शुक्रवार साइकल र्याली नेपालगन्जस्थित वाटरपार्क, कान्तिताल, सिद्धीविनायक लायन्स पार्क हुँदै कोहलपुरको खडगवार हात्तीसार, बाँके राष्ट्रिय निकुञ्जसँगै सुतैया तलाउको भ्रमण गरेर गाभर भ्यालीमा पुगेको छ । 

सो साइकल र्‍यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरण सम्बन्धी सन्देश प्रवाह गरेको छ । आयोजकका अनुसार साइक्लिस्टले शनिवार नेपालगन्जदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीयस्थल तथा सामाजिक गतिविधिको प्रवर्धन गर्ने छन् ।

कार्यक्रममा २५० भन्दा बढी स्वदेशी तथा विदेशी साइक्लिस्टको सहभागिता छ । साइकल यात्राले पर्यटन प्रवर्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने नेपालगन्ज साइकलिङ क्लबका पूर्व अध्यक्ष सतिश निरौलाले बताउनुभयो ।