सुधा देव
भारदह(सप्तरी), फागुन ८ गते । प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालका समन्वय समिति सदस्य जयप्रकाश ठाकुरले पार्टी परित्याग गर्नुभएको छ । उहाँले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरि पार्टी परित्याग गरेको जानकारी दिनुभएको छ ।
पार्टीमा नातावाद, कृपावाद, जातिवाद, अर्थवाद तथा नश्ल चिन्तनवादी सोचबाट प्रभावित एवं ग्रसित भइसकेकोले आफूले पार्टी परित्याग गरेको घोषणा गरेको उहाँले विज्ञप्ति मार्फत जानकारी दिनुभयो । विज्ञप्तिमा भनिएको छ, पार्टीमा सामूहिक छलफलभन्दा व्यक्ति विशेषको निर्णय हावी हुने गरेको सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने गरेको, अवसरवादी गठबन्धन र अस्थिर राजनीतिक लाइन दिने गरेको, पारदर्शिता र जवाफदेहिताको अभाव भएको छ ।
राजनीतिक सिद्धान्त, विचारधारा, संस्थागत प्रकृया र जनविश्वासमा आधारित हुनुपर्नेमा जसपा नेपालको वर्तमान संरचना र अभ्यासलाई नियाँल्दा त्यो क्रमशः व्यक्ति केन्द्रीत, अवसरवादी र सिद्धान्तहीन दिशातर्फ उन्मुख देखिएकोले पार्टी परित्याग गरेको घोषणा गरेको उहाँले बताउनुभयो ।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका ठाकुरले आफ्नो स्वतन्त्र राजनीतिक अस्तित्व समाप्त पार्दै लोसपा जसपा नेपालमा बिलिन भइसकेको आरोप लगाउनुभएको छ । समन्वय समिति सदस्य र पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा पनि देश तथा मधेशको लोकतान्त्रिक सुदृढिकरण, मधेशी जनताको पहिचान, अधिकार र आत्म सम्मानको संरक्षण तथा समावेशी, न्यायपूर्ण र संस्थागत लोकतान्त्रिक राज्य संरचनाको स्थापना गर्न आफू रहिरहने विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।