• ८ फागुन २०८२, शुक्रबार

'निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य बनाउन सबैले योगदान गर्नुपर्छ'

blog

निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको आयोजनामा विराटनगरमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन ८ गते । निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको आयोजनामा विराटनगरमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार निर्वाचन आयोगका कार्यावाहक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य बनाउन सबैले योगदान गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको निर्वाचनलाई विश्वले हेरिरहेको बताउनुहुँदै ठीक ढङ्गले निर्वाचन सम्पन्न गरेको सन्देश विश्वलाई पुर्‍याउन सबैले आ आफ्नो ठाउँबाट आचारसंहिता पालन गरेर, निर्वाचन कानुन मानेर र सही सूचना प्रवाह गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेको उम्मेदवारहरू घरदैलौमा व्यस्त बनेकोले देश निर्वाचनमय बनेको बताउनुभयो । उहाँले आयोगको एकमात्र उद्देश्य निष्पक्ष, स्वच्छ र भयरहित ढङ्गले निर्वाचन गराउने र मतदाताहरू फागुन २१ गतेको व्यग्र प्रतिक्षामा रहेको पाइएको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पराजुलीले २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै हुने अवस्था आएकाले यसले चुनौती र अवसर दुवै भएकाले त्यसका लागि प्रदेश सरकारले सबै खालको सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी फागुन २१ ग्तेको प्रतिनिधि सभा निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण प्रक्रिया भएकाले सबै पक्षले आचारसंहिता पालना गर्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचन सम्बन्धी भ्रम र आशंका फैलाउन नहुने उल्लेख गर्दै उहाँले फागुन २१ मा हुने निर्वाचनका लागि प्रदेश सरकार आवश्यक समन्वय र सहयोगमा तयार रहेको बताउनुभयो । 

विशिष्ट अतिथि प्रदेश पर्यटन, वन तथा वतावरणमन्त्री भीम पराजुलीले राष्ट्रिय अभियान भएकोले निर्वाचन सफल पार्न प्रदेश सरकारले सबैखाले सहयोग गर्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कर्मचारीदेखि पर्यवेक्षकसम्मकोले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मौन अवधीमा सबै भन्दा बढी चलखेल हुने भएकाले सो अवधीमा व्यवस्थित अनुगमन गर्नुपर्ने र मतदानदेखि मतगणनासम्म खटिने कर्मचारीहरूको आचरण माथि पनि निगरानी आवश्यक भएको बताउनुभयो । 

अर्का विशिष्ट अतिथि तथा कोशी प्रदेश सरकारका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले प्रदेश सरकार निर्वाचन सञ्चालनका लागि पूर्णरूपमा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले प्रदेशको निर्वाचन सुरक्षा कमान्डरको भुमिका समेत निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधलीरहित र भयरहित वतावरणमा सम्पन्न गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी प्रस्तुति दिँदै आचारसंहिता किन आवश्यक छ ?, क कसलाई लागु हुन्छ ?, सबै पक्षका नागरिक, विभिन्न पदाधिकारी, सरकारी निकाय, सुरक्षाकर्मी, शिक्षक, गैरसरकारी संस्था, राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने आचरण, उल्लङ्घन भएमा उजुरी प्रक्रिया र कारबाहीका व्यवस्था लगायतका विषयमा विस्तृत जानकारी गराउनुभयो । 

उहाँले स्वच्छ, निष्पक्ष, धाधलीरहित र भयमुक्त निर्वाचनका लागि सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको बताउनुभयो । त्यसैगरी निर्वाचन आचार संहिताका प्रमुख विषयहरु र सरोकारवालाहरूको भुमिका बारेको कार्यपत्र पूर्व कानुन सचिव फडिन्द्र गौतमले प्रस्तुत गर्नुभएको थियो । उहाँले राजनीतिक वित्त, निर्वाचन खर्चको सीमा, स्रोत परिचालन, प्रचारप्रसारमा अपनाउनुपर्ने आचरण तथा अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गर्दै निर्वाचन खर्चको पारदर्शिता लोकतन्त्र सुदृढीकरणका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूमा सहसचिव भट्टराई र निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जवाफ दिँदै निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मोरङ र सुनसरीका जिल्ला निर्वाचन कार्यालयका प्रमुख, प्रतिनिधि, आयोगको प्रदेश कार्यालय प्रमुख, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, पत्रकार, नागरिक समाज तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रमले फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन आचारसंहिता कडाइका साथ पालना गर्दै कुनै भ्रममा नपरी सक्रिय रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन सबै पक्षलाई सन्देश दिएको निर्वाचन आयोगको प्रदेश कार्यालय प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।