• ८ फागुन २०८२, शुक्रबार

भेरी अस्पतालमा रेबिज खोप अभाव

blog

सिराज खान

नेपालगन्ज, फागुन ८ गते । बेला बेलामा नेपालगन्जस्थित भेरी अस्पतालमा अभाव हुँदै आएको रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ को फेरी एक अभाव भएको छ । 

यस क्षेत्रका विपन्न र न्यून आर्थिक अवस्था भएका अधिकांश बिरामी उपचारका लागि आउने सो अस्पतालमा रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ अभाव भएपछि निःशुल्क खोप सेवा ठप्प भएको अस्पतालले जनाएको छ । 

‘एन्टी–रेबिज भ्याक्सिन’ को मौज्दात सकिएपछि हाल सेवाग्राहीलाई निःशुल्क खोप दिन नसकिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संकेत कुमार रिसालले बताउनुभयो । उहाँले कुकुरले टोकेपछि लगाइने रेबिजको खोप प्रदेश सरकारमार्फत प्राप्त हुँदै आएको भएपनि केही समययता आवश्यकता अनुसार डोज नआउँदा समस्या देखिएको बताउनुभयो । 

डा. रिसालका अनुसार दैनिक दुई सयभन्दा बढी बिरामी खोपका लागि आउने गरेकोमा खोपको अभाव हुँदा सेवा निरन्तर सञ्चालन गर्न नसकिएको हो । खोपको मात्रा सरकारले तत्काल बढाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

अस्पताल प्रशासनले प्रदेश सरकारलाई खोप आपूर्तिका लागि पत्राचार गरिसकेको भएपनि हालसम्म आपूर्ति हुन नसकेको जनाएको छ । खोप अभावसँगै सेवाग्राहीहरू निजी पसलबाट महँगो मूल्यमा खोप किन्न बाध्य भएका छन् । केन्द्र र प्रदेश सरकारबाट खोप प्राप्त नभएसम्म निःशुल्क सेवा सञ्चालन सम्भव नहुने अस्पतालले जनाएको छ ।

कुकुरले टोकेपछि खोपका लागि भेरी अस्पताल पुग्नु भएका नेपालगन्ज ४ का स्थानीय नरेश थापाले अस्पतालमा खोप नपाउँदा बाहिरबाट महंगो मुल्यमा खरिद गर्न बाध्य भएको बताउनुभयो । उहाँले रेबिज खोप महँगो भएकाले सबै बिरामीले खरिद गरेर लगाउन सक्ने अवस्था नरहेको जनाउँदै विपन्न र गरिबलाई धेरै समस्या हुने बताउनुभयो । 

सर्वसाधारणलाई सहज सेवा दिन भेरी अस्पतालमा तत्काल खोपको व्यवस्था गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । रेबिज जस्तो ज्यानै जाने जोखिम भएको रोगको रोकथामका लागि अत्यावश्यक खोप अभाव हुँदा बाँकेमा स्वास्थ्य संकट गहिरिँदै गएको स्थानीयको चिन्ता छ । 

केन्द्र र प्रदेश सरकारले तत्काल खोप पठाए मात्रै निशुल्क खोप सेवा पुनः सुचारु गर्न सकिने अस्पतालले जनाएको छ ।