• ८ फागुन २०८२, शुक्रबार

जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमा : मन्त्री श्रेष्ठ

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडाैँ, फागुन ८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ । 

उहाँका अनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबैभन्दा ठुलो मार महिलाहरूमाथि परिरहेको हो । नेपालको पर्यटन क्षेत्र प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताउनुभयो । 

पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने बताउनुभयो । होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले जलवायु वित्तपोषणमा रहेका संरचनात्मक समस्याहरू औंल्याउँदै अधिकांश ‘रेजिलेन्ट फन्ड’ पूर्वाधार विकासमा मात्र केन्द्रित रहेको बताउनुभयो । उहाँले यसलाई ‘जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ’ को संज्ञा दिनुभयो । 

ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि अनौपचारिक रहेकाले धेरै महिलाहरू सामाजिक सुरक्षा बिना नै जोखिमपूर्ण अवस्थामा काम गरिरहेको उहाँकाे भनाइ छ । जलवायु परिवर्तनले बसाइसराइ बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको ‘त्रिगुणीय बोझ’ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । यस्तो अवस्थामा पर्यटन क्षेत्र उनीहरूका लागि जीवनरेखा बन्ने गरेको छ । जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा, विशेष गरी महिलामा गरिने लगानी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्र हाम्रो प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको छ । तर हिमताल विस्फोट, अनियमित हिमपात र ट्रेकिङ सिजन पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय र सम्पदाको क्षति जस्ता गम्भीर जलवायुजन्य घटनाहरूले पर्यटनलाई बढ्दो रूपमा प्रभावित पारेको छ र जब पर्यटन घट्छ सबैभन्दा बढी असर त्यसले महिलालाई पारेको छ । धेरै टुरिजम डिपेन्डेन्ट कम्युनिटीमा महिलाहरू अनौपचारिक तथा सिजनल आम्दानीमा निर्भर हुन्छन् । होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, लज तथा होटलमा काम, लोकल ठाउँको गाइडिङ, खाना पकाउने वा सांस्कृतिक सेवा प्रदान गर्नेमार्फत जब जलवायुको इम्प्याक्ट पर्यटनमा परेर यसलाई अवरुद्ध गर्छ, यी आयआर्जनका अवसरहरू हराउँछन् ।" 

साथै लैङ्गिक आधारमा तथ्याङ्क अभिलेखनको अभावका कारण महिलाद्वारा सञ्चालित व्यवसायमा कति लगानी भइरहेको छ भन्ने मापन गर्न कठिनाइ भइरहेकाे उहाँले उल्लेख गर्नुभयाे । 

"यसलाई हामी जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ भन्छौँ । दोस्रो, ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि धेरै हदसम्म अनौपचारिक छ । धेरै महिलाहरू औपचारिक दर्ता बिना होमस्टे सञ्चालन गरिरहेका छन् र सामाजिक सुरक्षा बिना मौसमी रूपमा काम गर्छन् तर उनीहरू नै सबैभन्दा बढी जलवायु जोखिममा छन् । तेस्रो, पर्यटन पूर्वाधार र योजना प्रायः लैङ्गिक संवेदनशील हुँदैन । सुरक्षा, सरसफाइ, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच जस्ता पक्षहरूलाई प्रायः व्यवस्था गरिएको छ," उहाँले भन्नुभयाे ।

यस्तै, महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँच योग्य जलवायु कोष, सहकारी सुदृढीकरण, पानी तथा नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी र वन, पदमार्ग, पानी स्रोत तथा सांस्कृतिक सम्पदा संरक्षणमा महिलाले गरेको योगदानको मान्यता आवश्यक रहेकाे उहाँकाे भनाइ छ । 

उहाँले महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकारी सुदृढीकरण र नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभयो । पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षणमा योगदान पुर्‍याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।