काठमाडाैँ, फागुन ८ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो ।
अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षा अनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पार्नुभयो । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ ।
उहाँले सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताउनुभयो । उहाँले केही दिन अघि मात्रै सहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालका अनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्ने छ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीलाई जुन तरिकाले जुन स्तरबाट यो बन्नुपर्थ्याे, त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन । किनभने अब करिब सदन चल्ने कुरा त निधो नै भइसक्यो । अब दुई-चार दिन तलमाथि होला नत्र भने अब सदन चल्ने स्थितिलाई इलेक्सन भएपछिको स्थिति । अब त्यो सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ हामीले पहिले देख्न धेरै पटक निर्देशन दिइयो । अब अहिले लास्ट पटक आएर दिएको निर्देशन अनुसार अलिकति काममा प्रगति भएको त पाइएकै छ । उहाँहरूसँग अहिले कुरा गर्दाखेरि पनि हामी दिन्छौँ भनेको बेलामा हामी दिन्छौँ भन्ने खालको कुरा प्रतिबद्धता भनौँ न जाहेर गर्नुभएको छ ।"
नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उहाँले आशा व्यक्त गर्नुभएको छ ।