• ८ फागुन २०८२, शुक्रबार

बागलुङमा चार नाल अवैध भरुवा बन्दुक बरामद

blog

प्रहरीले बरामद गरेको अवैध भरुवा बन्दुक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ८ गते । प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा ३ धम्जाको सायकटेरास्थित जङ्गलमा लुकाइ छिपाई राखेको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरेको हो । 

प्रहरी चौकी बिहुँका प्रहरी सहायक निरीक्षक सिकेन्द्र राय यादवको नेतृत्वमा खटिएको टोलीले सबुत चार थान र बेसबुत १ थान गरी पाँच थान इजाजत पत्र बिनाका भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । प्रहरीले अवैध बन्दुक बरामद गर्न बागलुङमा अप्रेसन चलाइरहेको छ । 

प्रहरीले यसअघि ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको थियो । अवैध हतियार नियन्त्रण गर्ने अप्रेसनअन्तर्गत इलाका प्रहरी कार्यालय हरिचौर गलकोट मातहत रहेको प्रहरी चौकी भातखाने डाँडाकाको टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको थियो । 

आसन्त प्रतिनिधि सभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपायोग भई निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुने सक्ने तथ्यलाई मुल्यांकन गर्दै इजाजत पत्र नलिई लुकाइछिपाई राखिएका हातहातियार बरामद तथा संकलन गर्नको लागि प्रहरीले अप्रेसन टोली खटाई स्थानीयको सहयोगमा जंगल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घरगोठमा लुकाई राखेका एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । हतियार बरामद गर्दा प्रहरीले एकजना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च अपरेशन अभियान थालेपछि सबै हतियार जंगल छेउछाउ, खोंचहरुमा भेटाएकाले थप खोजी भैरहेको भारतीले बताउनुभयो । 

बरामद भएका अधिकांस घरेलु रुपमा बनाइएका हतियार भएपनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको प्रहरी उपरिक्षक भारतीले बताउनुभयो । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना भने बरामद भएको छैन ।

बरामद  हतियार सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकोले अनुसन्धानको पाटो पनि अगाडि बढेको भारती जानकारी दिनुभयो ।