मुस्ताङ, फागुन ८ गते । प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आउनुभएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको हो ।
मन्दिर दर्शनका लागि जाने क्रममा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरूसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।
त्यस क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले प्रधानमन्त्री कार्कीसमक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नुपरेका समस्याबारे विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिनुभयो ।
“मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री पूर्वाधारका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठ वटा योजना पुरातत्वमा फाइल पेस गरेका छौँ । स्वीकृत हुन ढिलाइ भएकाले काम अगाडि बढेको छैन, यस विषयमा प्रधानमन्त्रीको मौखिक ध्यानाकर्षण गराइएको छ”, उहाँले भन्नुभयो ।
जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा पुरातत्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुुसालले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित नेपाल सेनाको इन्द्रबक्स गण जानुभएको थियो ।
निर्वाचन सफल पार्न प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्र्न निर्देशन दिनुभएको छ ।
जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तर्क्रियामा उहाँले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।”
प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराउनुभएको थियो । यसैगरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म भएका कार्य प्रगतिलगायत विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुभयो । रासस