• ८ फागुन २०८२, शुक्रबार

छोम्रोङ सबैभन्दा विकट मतदान स्थल

blog

सन्तोष सुवेदी

कास्की, फागुन ८ गते । कास्कीको क्षेत्र नम्बर ३ स्थित छोम्रोङ मतदान स्थल भौगोलिक रूपमा सबैभन्दा विकट भनेर निर्धारण गरिएको छ ।

सडक सञ्जालसमेत नपुगेको उक्त मतदानस्थल पुग्न घान्द्रुकबाट ४ घण्टा पैदल हिडेर पुग्न सकिन्छ । सडक पहुँच पुग्न नसकेको छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा ७८५ मतदाता छन् ।

उक्त मतदानस्थलमा मतदान गर्न जाने मतदाताहरू यस आसपासका क्षेत्र घुर्जुङबाट साढे दुई घण्टा, किमु्रङ खोलाबाट दुई घण्टा, सिनुवाबाट दुई घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीका १५३ मतदानस्थलमध्ये क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङमा हालसम्म पनि सडक पहुँच छैन् । 

जिल्लाका ११ वटा मतदान स्थलमा इन्टरनेट सेवा नपुगेकाले सूचना आदानप्रदानमा केही चुनौती हुन सक्ने आँकलन गरिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । सुरक्षाका लागि जिल्लामा ८६० नेपाल प्रहरी र एक हजार  १९९ म्यादी प्रहरी परिचालन गरिनेछ । 

१२ वटा मोबाइल गस्ती टोली र आपतकालीन अवस्थाका लागि २ वटा क्यूआरटी टोली तयारी अवस्थामा राखिनेछ । करिब ९० प्रतिशत मतदान स्थलको सुरक्षा अनुगमन सकिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

यो पटक कार्यालयले मत बदर न्यूनीकरण गर्न जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ ।फागुन ३ देखि १७ गतेसम्म चल्ने यो अभियानमा ५ वटा पालिकाका प्रत्येक वडामा १–१ जना गरी ७२ जना स्वयंसेवक खटिएका छन् । 

उहाँहरुले घरदैलो र टोलमा पुगेर लक्षित वर्गलाई मतदान गर्ने तरिका सिकाइरहनुभएको छ ।त्यसबाहेक हरेक पालिकामा अनुगमन संयोजक तोकिएको छ भने अनुगमनकर्ताको समेत अनुगमन गर्न जिल्लामा छुट्टै समिति गठन भएको छ ।