माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन ८ गते । पोखरामा विगत २५ वर्षदेखि निरन्तर भइरहेको आहारारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको फाइनल शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुने छ ।
१२ औँ संस्करणको उपाधि जितेको सहारा इतिहासलाई दोहोर्याउने योजनासहित मैदान छिर्दैछ भने १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल इतिहास रच्ने रणनीतिमा छ । सहाराले २०७० मा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलले पराजित गरी उपाधि जितेको थियो । जाउलाखेल २०६८ मा फाइनल पुग्दा मनाङसँगै २-० ले पराजित भएको थियो । नौ वर्ष अघि फाइनल खेलेपनि मनाङसँग पराजित भई सहारा उपविजेता बनेको थियो ।
२५ औँ संस्करणमा जाउलाखेलले पहिलो खेलमा मछिन्द्र क्लबलाई २-० ले पराजित गरेको हो भने क्वार्टरफाइनलमा चर्च ब्वाइजलाई ३-० ले र सेमिफाइनलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १-० ले पराजित गरी फाइनल यात्रा तय गरेको हो । सहारा क्बलले गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १-०, क्वार्टरफाइनलमा नेपाल पुलिसलाई सडेनडेथमा ६-५ र सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लबलाई पनि सडेन डेथमा ७-६ मा पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो ।
फाइनल खेलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा सहाराका प्रशिक्षक सुनील रानामगरले उपाधि जित्ने रणनीतिका साथ तयारी गरिएको बताउनुभयो । जाउलाखेलका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले उज्बेकिस्तानको बलियो टिमलाई पराजित गरेकाले आफ्ना खेलाडीको मनोबल उच्च रहेको र यो पटक इतिहास बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । सहाराका कप्तान आशिष गुरुङले दोस्रो पटक गोल्ड कप उचाल्ने योजना रहेको बताउनुभयो । जाउलाखेलका कप्तान उनेश चौधरीले पनि पोखराको मैदानमा गोल्ड कप उचालेर इतिशास बनाउने दाबी गर्नुभयो ।
उपाधि कसले जित्छ त्यो भने शनिबारको खेलपछि मात्र थाहा हुने छ । आहारारा पोखरा गोल्ड कपमा तीन विदेशी टोलीसहित १२ टिम सहभागी भएका थिए । आयोजक सहारा क्लबले यो पटक पुरस्कार राशि वृद्धि गरी विजेतालाई १४ लाख एक हजार र उपविजेतालाई सात लाख नगद प्रदान गरिने जानकारी दिएको छ ।