• ८ फागुन २०८२, शुक्रबार

लमजुङमा बदलिँदो चुनाव प्रचार : डिजिटलसहित प्रत्यक्ष भेटघाटमा जोड

blog

मतदाता भेटघाटमा लमजुङका उम्मेदवार । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, फागुन ८ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि टोल–बस्तीमा बैठक, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचारलाई प्राथमिकता दिइएको छ । आठ पालिका र ६५ वटा वडा रहेको लमजुङको निर्वाचन क्षेत्र भौगोलिक रूपमा ठुलो भएकाले उम्मेदवारहरूलाई सबै ठाउँमा पुग्न चुनौती भैरहेको छ ।

उम्मेदवारहरूले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिँदै सामाजिक सञ्जालमार्फत मेहनतपूर्वक प्रचार गरिरहेका छन् । क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ । भित्तामा टाँसिने पोस्टर–पम्प्लेटको प्रयोग न्यून छ र डिजिटल सामग्रीको व्यापक प्रयोग छ ।

विगतका निर्वाचनमा गाउँ–गाउँमा पोस्टर र पम्प्लेट वितरण हुने गर्दथ्यो, तर यसपटक उम्मेदवारले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिरहेका छन् । डिजिटल प्रचारप्रसारमा दलहरू विशेष सक्रिय भएका छन् भने प्रचार सामग्री व्यवसायीको माग पनि कम देखिन्छ ।

नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, समानुपातिक उम्मेदवार टुका हमाल र प्रेम घलेसहितको टोली मतदाताको घरदैलोमा सक्रिय छन् । गुरुङको सचिवालयले सदरमुकाम बेँसीसहरबाट डिजिटल सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ । गुरुङका सचिव विक्रम न्यौपानेका अनुसार, “उहाँले विगतमा गरेका विकास कार्य र प्रतिबद्धताहरू मतदातासम्म पु¥याउन भिडियो, गीत, टिकटक र पोडकास्टमार्फत प्रचार गरिरहेका छौं।”

नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङको सानो टिम पनि पोष्टकार्ड, रिल र भिडियो सामग्री मार्फत डिजिटल प्रचारमा सक्रिय छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, नेपाली कम्युनिस्ट पार्टीका हरिजङ तामाङको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ । भेटघाट, प्रत्यक्ष संवाद र मतदाताका प्रतिक्रियालाई फेसबुकमा लाइभ गर्दै प्रचार प्रवद्र्धन भइरहेको छ ।

स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजङ गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ लगायतका उम्मेदवारले पनि सामाजिक सञ्जालमा सक्रिय प्रचार गरिरहेका छन् ।

डिजिटल प्रचार बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ । उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ । निर्वाचन आयोगले यस पटक नेपाली सेनालाई अनुगमन जिम्मा दिएको छ भने प्रहरी र प्रशासनले पनि निगरानी बढाएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ व्यवस्था गरिने आयोगले जनाएको छ । बढ्दो मतदाता संख्याका साथै बदलिँदो प्रचार शैलीले यसपटकको निर्वाचनलाई अझ रोचक बनाएको छ ।