विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ८ गते । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातालाई आकर्षित गर्न नयाँ शैली अपनाएर बिहीबार अभियानको औपचारिक सुरुवात गरिएको हो ।
यसक्रममा पार्टीका सप्तरीका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले साधु–सन्तबाट आशीर्वाद ग्रहण गर्दै चुनावी अभियान प्रारम्भ गरेका छन् । राजविराजस्थित मविव क्याम्पस मैदानमा सयौँ साधु–सन्तको उपस्थितिमा आशीर्वाद लिएपछि उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा प्रचारप्रसारमा जुटेको पार्टीका जिल्ला प्रवक्ता ललन मण्डलले जानकारी दिनुभयो ।
नेपाल जनता पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नं. १ मा दीपेन्द्रप्रसाद यादव, क्षेत्र नं. २ मा रञ्जु झा ठाकुर, क्षेत्र नं.३ मा डा. सन्तोष चमन यादव र क्षेत्र नं.४ मा कोशलकिशोर दास उम्मेदवार रहनुभएको छ ।
सोही अवसरमा पार्टीले चुनावी सङ्कल्पपत्र पनि सार्वजनिक गरेको छ । क्षेत्रको न्यायोचित समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रको उत्थानलाई प्राथमिकतामा राखिएको सङ्कल्पपत्रमा उल्लेख छ ।
पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष त्रिभुवननाथ पाठक, सचिव जयनाथ यादव, मधेश प्रदेश अध्यक्ष शत्रुघ्नप्रसाद साह तथा महन्थ मोतीदास बैरागीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीलगायतका दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी १०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।