लेखनाथ, फागुन ८ गते । पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह आज (शुक्रबार) हुँदै छ । समारोहमा दीक्षित हुने विद्यार्थीको सङ्ख्या छ हजार छ सय २२ जना छ । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री सुशीला कार्की समारोहमा सरिक हुन पोखरा आउँदै हुनुहुन्छ ।
शुक्रबार ११ बजे सुरु हुने दीक्षान्त समारोहमा लैङ्गिक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकी चाँदनी जोशी प्रमुख अतिथि हुनुहुन्छ । करिब छ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभवी उहाँले दक्षिण एशियामा लैङ्गिक समानता र महिला सशक्तीकरणको एजेन्डालाई संस्थागत र प्रभावकारी रूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम वि.सं. २०५४ सालमा स्थापना भएको यस विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालयहरूमा स्नातक तहका ३४ वटा, स्नातकोत्तर तहका ३३ वटा, एमफिल तहका दुई वटा तथा विद्यावारिधि तहका पाँच वटा गरी ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।
यी कार्यक्रममा हाल विश्वविद्यालयमा ३७ हजार पाँच सय ९३ विद्यार्थी अध्ययनरत छन् । मधेश र कर्णालीबाहेक पाँच प्रदेशमा ६६ शैक्षिक संस्था छन् । यसअघि २० वटा दीक्षान्त समारोहमा विभिन्न सङ्काय अन्तर्गत ७१ हजार दुई सय २९ जना विद्यार्थीले उपाधि प्राप्त गरिसकेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।
विश्वविद्यालयले खुदी ढुङ्गेपाटनमा एक सय शय्यासहित आधुनिक सुविधायुक्त शिक्षण अस्पताल स्थापना गरी शैक्षिक वर्ष २०७८-७९ बाट सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयले चाँडै १३ वटा नयाँ कार्यक्रम सुरु गर्ने जनाएको छ ।