प्रवीणकुमार शर्मा
रौतहट, फागुन ८ गते । रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारी साधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरूले प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दै आचारसंहिता उल्लङ्घन गरिरहेको देखिएको छ । ठुलो सङ्ख्यामा भारतीय गाडी प्रयोग हुँदा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनुका साथै मतदाता आतङ्कित भएको गुनासोसमेत आएको छ ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी, जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिएको छ । यससँगै अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि त्यस्ता सवारी प्रयोग गरिरहेका छन् ।
उम्मेदवार तथा तिनका समर्थकहरूले भारतीय नम्बर प्लेटका गाडीमा राजनीतिक दलका झण्डा र ब्यानर टाँसेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । प्रचारप्रसारमा भारतीय नम्बरका गाडी प्रयोग भइरहेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहे पनि निर्वाचन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय भने मौन देखिएका छन् । यसले निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति प्रशासनको इच्छाशक्ति र निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
नियमानुसार राजस्व तिरेर निश्चित अवधिका लागि नेपाल प्रवेश गरेका भारतीय सवारी साधनलाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न अनुमति छैन । निर्वाचन आचारसंहिता, २०८२ ले विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न स्पष्ट रूपमा रोक लगाएको छ ।
आचारसंहिताको दफा १४ मा ‘सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण’ सम्बन्धी व्यवस्था गरिएको छ । उपदफा (क) मा निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्रमा आयोगले तोकेबमोजिम बढीमा दुई वटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न सकिने उल्लेख छ । त्यस्ता सवारी साधन नचल्ने स्थानमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था भए पनि विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिइने स्पष्ट उल्लेख छ ।
आचारसंहिता उल्लङ्घन नियन्त्रणका लागि निर्वाचन आयोगले जिल्लास्तरमा संयन्त्र निर्माण गरी परिचालन गरेको भए पनि प्रभावकारी अनुगमन नभएको आरोप छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमनको जिम्मेवारी दिइएको भए पनि कार्यान्वयन फितलो देखिएको छ ।
रौतहटमा व्यापक रूपमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भएको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले अनुगमन गरिने बताउनुभएको छ । गुनासा प्राप्त भए पनि स्थानीय तहमा प्रहरी सङ्ख्या न्यून भएकाले पूर्णरूपमा नियन्त्रण गर्न कठिन भएको उहाँको भनाइ छ ।