• ८ फागुन २०८२, शुक्रबार

सोचविचार गरेर मतदान गर्न उपसभापति शर्माको आग्रह

blog

बिष्णुप्रसाद पोखरेल
दमक, फागुन ८ गते ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यही फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् । मत हाल्ने बेला व्यक्तिगत रिस, झोक वा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

‘‘मतदाताले उत्तेजनामा नआई, आवेगमा नभई, व्यक्तिगत रिस त्यागेर भोट हाल्न म आग्रह गर्दछु,’’ उहाँले भन्नुभयो । भोट हाल्ने भनेको रिसमा होइन, झोकमा होइन, सोचेर हो, उहाँको भनाइ थियो । ‘‘हामीसँग होस् या अरूसँग, कसैसँग रिसाएर मतदान नगरौं,’’ उहाँले भन्नुभयो, ‘‘मतदान तपाईंको अधिकार हो, त्यसैले सोचबिचार गरेर जहाँ मन लाग्छ त्यहीँ गर्नुहोस् ।’’

आफूलाई भावी प्रधानमन्त्रीका रूपमा झापामा नै मत मागिरहेका नेताहरूसँग खुला बहस गर्न तयार रहेको उहाँले बताउनुभयो । 

‘‘म मेरो सभापति तथा प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई झापामा बहसका लागि ल्याउन तयार छु,’’ उहाँ भन्नुभयो । आफूहरु जनताका प्रश्नबाट नभाग्ने र जनताका गुनासाहरु सुन्ने शर्माले उल्लेख गर्नुभयो । यो निर्वाचन मूलक बदल्ने निर्वाचन भएको शर्माको भनाइ थियो ।

देशमा पछिल्लो समय विकासका काम अघि बढेको उल्लेख गर्दै शर्माले केही पनि नभएको भन्ने भाष्य गलत भएको दाबी गर्नुभयो । ‘‘बाटोघाटो, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास भएको छ,’’ शर्माले भन्नुभयो, ‘‘केही नै भएको छैन भन्ने धारणा सही होइन ।’’

शर्मा बिहीबार साँझ गृह जिल्ला झापा आउनु भएको हो । उहाँ झापा क्षेत्र नं. २ को चुनावी घरदैलोमा सहभागि हुनुभयो । नेपाली कांग्रेसकी नेत्री तथा पूर्व मन्त्री सरिता प्रशाई यहाँबाट उम्मेदवार बन्नुभएको छ ।