• ८ फागुन २०८२, शुक्रबार

तीन महिनापछि बल्यो बिजुली

blog

सुलीकोट समाचारदाता

सुलीकोट, फागुन ८ गते  । हिमालपारिको गाउँपालिका चुमनुब्री गाउँपालिकाको सामागाउँ र साम्दोका बासिन्दाले तीन महिनापछि पुनः बिजुली बाल्न पाएका छन् । सामागाउँ जलविद्युत् आयोजनाको उपकरण मर्मत सम्पन्न भएसँगै विद्युत् सुचारु भएको छ । लघुजलविद्युत् आयोजनाका अध्यक्ष वीरबहादुर लामाका अनुसार जलविद्युत् आयोजनाको मेसिनमा प्राविधिक समस्या आएपछि तीन महिनादेखि बन्द रहेको आयोजना हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

हिमालपारिको दुर्गम क्षेत्रमा पर्ने यी ठाउँ मनासलु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिका–१ मा पर्छ । यहाँ हालसम्म मोटरबाटो नपुगेकाले मर्मत कार्य चुनौतीपूर्ण बनेको थियो । अध्यक्ष लामाले भारतबाट आवश्यक उपकरण झिकाएर हेलिकोप्टरमार्फत ढुवानी गरी मर्मत गरिएको जानकारी दिनुभयो । धेरै सकस गरेर बल्ल बल्ल आयोजना सञ्चालनमा ल्याउन सफल भयौँ, अध्यक्ष लामाले भन्नुभयो, “सामागाउँ र साम्दोमा बिजुली सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र आन्तरिक तथा बाह्य पर्यटक अँध्यारोमा बस्न बाध्य भएका थिए ।” उत्तरी गोरखामा विशेष गरी चिसोयाममा विद्युत् अभावले दैनिकी प्रभावित भएको थियो । ल्होसार पर्वका अवसरमा पुनः बत्ती बाल्न पाउँदा स्थानीय बासिन्दा खुसी भएको सामागाउँका स्थानीय दोर्जे लामाले बताउनुभयो ।