• ८ फागुन २०८२, शुक्रबार

निर्वाचनले मात्रै देशलाई निकास दिनसक्छ : मन्त्री पराजुली

blog

आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली

हरिप्रसाद कोइराला 
उर्लाबारी, फागुन ८ गते ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो ।

विषम परिस्थितिबाट उब्जिएको राजनीतिक कारण देश चुनाबमा होमिएको बताउँदै निर्वाचनले मात्र देशको संविधानलाई मुलबाटो ल्याउने उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा निर्वाचित सरकार नभएको बताउँदै संविधानले दिएका अधिकारहरू रक्षाका लागि यो निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो ।

मन्त्री पराजुलीले प्रदेससभामा आमसञ्चार विधेयक विचाराधीन अवस्थामा रहेको बताउँदै पत्रकारको स्वाभिमान उठाउने गरी विधेयक आउने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल, नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष सुमन पुरीले बोल्नुभएको थियो । कार्यक्रममा कोशीका १४ जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ ।