• ८ फागुन २०८२, शुक्रबार

उम्मेदवारसँग भूकम्पपीडितको गुनासो

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, फागुन ८ गते । जाजरकोटका भूकम्पपीडितले मत माग्न आएका उम्मेदवारसँग दोस्रो किस्ता नपाएको गुनासो गर्न थालेका छन् । भूकम्प गएको दुई वर्ष बित्दा पुनर्निर्माण सम्पन्न हुने समयसम्म जनताबाट अस्थायी आवासको दोस्रो किस्ता रकम नपाएको गुनासो गरेका हुन् । 

२०८० कात्तिक १७ गते राति बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले धनजनको ठुलो क्षति बेहोरेपछि सरकारले अस्थायी आवासको पहिलो किस्ताबापतको रकम २५ हजार पाएर टहरा बनाई बसेका पीडित चुनावी गतिविधि बढ्दै गएपछि प्रचारप्रसारका क्रममा गाउँमा पुगेको राजनीतिक दल, नेता र उम्मेदवारलाई दोस्रो रकम किन नआएको भन्दै प्रश्न गरेका छन् । अस्थायी आवास टिनको छानामुनि बसेका सर्वसाधारण पुनर्निर्माण भइसक्ने बेलामा दोस्रो किस्तै नपाएको बताउँदै आएका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार अस्थायी आवासका लागि सरकारबाट आएको रकम वितरण गरिएको छ । पाउन बाँकी सर्वसाधारणका लागि रकम नआएपछि वितरण गर्न सकिएको छैन । भूकम्पबाट घरबारविहीन भएका जनताले पुनर्निर्माणका काम सम्पन्न भई सुरक्षित आवासमा बस्ने बेलासम्म दोस्रो किस्ता नपाएको गुनासो गर्न थालेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार दोस्रो किस्ता नदिएपछि पुनर्निर्माणका काम अघि नबढाउँदा निर्वाचनका बेला मतदाताले चिन्ता व्यक्त गरेका छन् । यतिबेला जनताले प्रश्न गर्ने समय भएकाले किन र कसरी दोस्रो किस्ता रकम पाउनबाट वञ्चित भएको हो । सात वटा स्थानीय तहले भूकम्प गएपछि ४८ हजार ५१६ जना लाभग्राहीको विवरण स्थानीय सरकारलाई पेस गरेका थिए । सोही आधारमा सरकारले ४१ हजार ७११ लाभग्राहीलाई पहिलो किस्ता र ३५ हजार ५८३ जनाले दोस्रो किस्ता पाए पनि अझै पनि छ हजार १२८ जना लाभग्राहीले दोस्रो किस्ता रकम पाउन सकेका छैनन् । भेरी नगरपालिका–१ का हस्तबहादुर कामीले पुनर्निर्माणका लागि स्थानीय सरकारसँग सम्झौता गरे पनि रकम पाउन नसकेको बताउनुभयो । उहाँले मत माग्न आएका नेता र उम्मेदवारलाई दोस्रो रकम कहिले आउँछ भनी सोधेको जनाउनुभयो । 

भेरी नगरपालिकामा २३९, नलगाड नगरपालिकामा ८२५, छेडागाड नगरपालिकामा एक हजार ४६२, शिवालय गाउँपालिकामा ९१, बारेकोट गाउँपालिकामा १०३, कुशे गाउँपालिकामा दुई हजार ३९, जुनीचाँदे गाउँपालिकामा एक हजार ६५० जनाले दोस्रो किस्ता पाएका छैनन् । पुनर्निर्माणका काम सम्पन्न हुने समयमा पीडित अस्थायी आवासको दोस्रो किस्ता रकम नपाएपछि गाउँमा पुगेका उम्मेदवारसँग जवाफ माग्ने गरेका छन् ।