• ८ फागुन २०८२, शुक्रबार

महोत्तरी–१ मा मतदाताका प्रश्न ‘लोकतन्त्रको उपलब्धि गाउँसम्म कहिले पुग्छ ?’

blog

ग्रामीण भेगका मतदाताका गुनासा सुन्दै उम्मेदवार मुकेशराज काफ्ले । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन ८ गते । “लोकतन्त्र र सङ्घीयता आएको दुई दशकमा देश र जनताका लागि के भयो ? रोप्ने बेलामा आलुको बिउ ५० रुपियाँ किलो हुन्छ । किसानले उब्जाएपछि १० रुपियाँमा पनि बिक्दैन । अनि गाउँका युवा विदेश नगए के गरी बस्ने ? यही हो लोकतन्त्र ?” 

यो प्रश्न थियो महोत्तरी–१ स्थित भङ्गाहा सीतापुर–९, अजगेवाका प्रदीप यादवको । अनि भर्खरै भारतको चेन्नईबाट मजदुरी गरेर फर्कनुभएका २७ वर्षीय युवा विपिन सदाको जिज्ञासा थियो, “लोकतन्त्र र सङ्घीयताको उपलब्धि गाउँसम्म कहिले पुग्छ ?”

चुनावी प्रचारका व्रmममा अजगेवा पुग्नुभएका कांग्रेस उम्मेदवार मुकेशराज काफ्लेसँग मुसहर बस्तीनजिकै सोधिएका यी प्रश्नले घरदैलो कार्यव्रmमलाई केहीबेर बाटोमै रोकेको थियो । जवाफमा काफ्लेले भन्नुभयो, “तपाईंहरूका प्रश्न जनताका पीडाको अभिव्यक्ति हो । यसलाई सुन्ने मात्र होइन, सम्बोधन गर्ने मेरो भगीरथ प्रयत्न रहने छ ।”

चुनावी प्रचारका व्रmममा उम्मेदवारसँग सोधिने यस्ता प्रश्नले यस पटकको चुनावी माहोललाई थप रोचक बनाएको छ । कांग्रेस बुथ कमिटीका अध्यक्ष कृष्ण यादवका अनुसार अजगेवाको सानो बस्तीमा करिब चार हजार मतदाता छन् । विगतका निर्वाचन परिणामको मतान्तर हेर्दा यो मतसङ्ख्या निर्णायक बन्न सक्ने उहाँको भनाइ छ । गाउँमा बेरोजगारी, अशिक्षा, सहज स्वास्थ्य सेवा, खानेपानी, कृषि 

सङ्कट जस्ता समस्या छन् । जितेर गएपछि फर्केर नआउने नेताहरूको प्रवृत्तिले समस्या जस्ताको त्यस्तै रहेको गाउँलेको गुनासो छ । 

अजगेवाको चुनावी प्रचारमा दलित मुसहर युवाको पनि उल्लेख्य सहभागिता देखिन्थ्यो । २५ परिवारको बसोबास रहेको मुसहर समुदायको समस्या थप टड्कारो छ । सबै सुकुमवासी छन् । अशिक्षा र बेरोजगारी व्यापक छ । त्यहाँ खानेपानी र सार्वजनिक दलान (बसघरा) को अभाव छ । अधिकांश मुहसहर युवा रोजगारीका लागि भारत जान बाध्य छन् । चेन्नईका होटेलमा मजदुरी गर्ने ५०  युवाले मतदानका लागि हालसालै गाउँ फर्किएको बताए  । विगत १४ वर्षदेखि चेन्नईमा कार्यरत विपिन सदाले मुसहर बस्तीमा एउटा मात्र खानेपानीको धारा भएकाले भिडभाड र झगडासमेत हुने गरेको बताउनुभयो । सार्वजनिक दलान नहुँदा सामाजिक तथा धार्मिक कार्यव्रmम सञ्चालन गर्नसमेत समस्या रहेको मुसहर समुदायको गुनासो छ ।

उहाँले यसअघि जिताएर पठाएका प्रतिनिधिले वाचा पूरा नगरेकाले यस पटक परिवर्तनकारी उम्मेदवारको खोजी गरेको बताउनुभयो । सोही गाउँका ८५ वर्षीय राजेन्द्र यादव भन्नुहुन्छ, “कृषि क्षेत्रमा पर्याप्त ध्यान दिए गाउँको विकास आफैँ हुन्छ । सिँचाइको व्यवस्था भइदिए यहाँ पाँच बिघामा दुई सय मनभन्दा बढी धान फल्न सक्छ ।”

सडक छेउमा गुइँठा पारिरहनुभएकी ६० वर्षीय देवकलीदेवी र श्रवतीदेवीलाई लोकतन्त्र र सङ्घीयताको अनुभूति छैन । उहाँहरूका अनुसार हिजो पनि सर्पले टोक्दा र सुत्केरी व्यथामा ज्यान जाने अवस्था थियो, आज पनि गाउँको नियति उस्तै छ ।

उहाँको भनाइलाई स्नातक गरेकी रमिता यादवले प्रस्ट पार्दै भन्नुभयो, “अजगेवा गाउँदेखि करिब पाँच किलोमिटर टाढा हरिहरपुर स्वास्थ्य चौकीमा सेवा लिन सहज नहुँदा सुत्केरी र सर्पदंशका घटनामा ज्यान जाने अवस्था अझै कायमै छ । 


चुनावका बेला आएका नेतालाई भेट्न फेरि अर्को चुनाव पर्खनु पर्छ । गाउँको पीडा सुनिदिने कोही नहुँदा समस्या उस्तै छ ।”

बर्दीबासका समाजसेवी पोषण थापाले अजगेवा गाउँको कथा ग्रामीण नेपालकै प्रतिनिधि समस्या भएको धारणा राख्नुभयो ।