• ८ फागुन २०८२, शुक्रबार

सुगम बनिरहेको भित्री मधेश जोगबुढा

blog

लालडुङ्गा बजार र आसपासका गाउँबस्ती  । तस्बिर : पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेलधुरा, फागुन ८ गते । चुरे पहाडको भावर भित्री मधेश जोगबुढा सुगम बनिरहेको छ । पछिल्ला वर्षमा मुख्य सडकमा कालोपत्रे, खोलामा पक्की मोटरेबल पुल, ५० शय्याको अस्पताल, सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस, सिँचाइका कुला, घर घरमा धारा, विद्युतीकरण, खेलमैदान, टेलिफोनका टावर निर्माण भएसँगै भित्री मधेश क्षेत्र जोगबुढा सुगम बनिरहेको हो । पाँच वर्षअघिसम्म डोटी जिल्लाको बुडर बजारदेखि जोगबुढा क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको मुकाम लालढुङ्गा बजारसम्म कच्ची सडक थियो । खोलामा पुल नहुँदा पानी पर्दा सडक अवरुद्ध भई स्थानीयले निकै सास्ती खेप्नु परिरहेको थियो । 

विसं २०७७ मा बुडर–जोगबुढा सडक कालोपत्रे भएसँगै आलितालको जालटुडा, बाघखोली र परशुरामको आमपानी, गाईबाँधे, रङ्गुनखोलामा पक्की पुल निर्माण भएपछि यात्रा गर्न सहज भएको परशुराम नगरपालिका–१२ का ज्येष्ठ नागरिक नरबहादुर साउदले बताउनुभयो । आलितालको सुनखोलामा भने यसअघि नै मोटरेबल पुल निर्माण भइसकेको थियो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी सताउने सुनखोला थियो । चुरेका माथिल्ला क्षेत्रमा सानो वर्षा हुँदा सुनखोलामा आउने बाढीले सडक पूर्ण रूपमा बन्द हुन्थ्यो । सडक कालोपत्रेसँगै पुल निर्माण, अस्पताल, क्याम्पस, विद्यालय, खानेपानी, सिँचाइ कुलो निर्माण, विद्युतीकरण र घर घरमा खानेपानीका धारा निर्माण भएका छन् । २०५० सालअघिको जोगबुढा र अहिले निकै ठुलो परिवर्तन आएको छ । 

अन्नभण्डार जोगबुढाका बस्ती बस्तीमा सडक पुगेसँगै घर घरमा थ्रेसर ल्याएर गहुँ छुटान सहज भएको उहाँले बताउनुभयो । २०३६ सालमा डडेलधुरा सदरमुकामनजिकै हालको अमरगढी नगरपालिका–९, साउनगाउँबाट जोगबुढाको परशुराम नगरपालिका–१२, मोटाहल्दु गाउँ आएको बताउँदै उहाँले त्यो बखत बाटोघाटो नै नभएको बताउनुभयो । 

भौतिक पूर्वाधार निर्माणसँगै विद्यालय, क्याम्पस, अस्पताल स्थापना हुँदा जोगबुढावासीले सुगम क्षेत्रको अनुभूति गरिरहेको उहाँको भनाइ छ । सडक नै नहुँदा जोगबुढाबाट पैदल कञ्चनपुरको महेन्द्रनगर बजार पुगेर आवश्यक सामान किनमेल गर्नु पथ्र्यो । उहाँले भन्नुभयो, “हिँडेर महेन्द्रनगर बजार पुग्न एक दिन लाग्थ्यो । कृषि उपज पिठिउँमा बोकेर बजार पुगी बेच्ने र आफूलाई आवश्यक नुन, गुड, लत्ताकपडा किनेर बोकेरै आउनु पथ्र्योे । त्यो अवस्था हेर्दा अहिले जोगबुढाको तुलना नै नमिल्ने गरेर आकाश पातालको परिवर्तन भएको उहाँले बताउनुभयो । पछिल्ला वर्षमा लालढुङ्गा बजार पनि व्यवस्थित बन्दै गएको उहाँको भनाइ छ । 

“त्यो बेला हाम्रो जीवन दुःखदायी थियो । बुडर बजारबाट हिँडेर गाउँ पुग्नुपर्ने र गाउँबाट हिँडेर महेन्द्रनगर, ब्रह्मदेव बजार पुग्नुपर्ने बाध्यता थियो,” कञ्चनपुरको भीमदत्त नगरपालिकासँग सीमा जोडिएको महाकाली नदीकिनारको बस्ती परशुराम नगरपालिका–७, साँदनीका ज्येष्ठ नागरिक मन्दिरसिंह धामीले भन्नुभयो, “अहिले सडक पुगेका छन् । गाडी चल्छन् । गाउँ गाउँमा विद्यालय छन् । साँदनीखोलामा पक्की पुल बनेको छ । प्रहरी चौकी छ । निकै सहज भएको छ ।” तेल पेल्न एक दिन पैदल हिँडेर महेन्द्रनगर पुग्नुपर्ने बाध्यता अन्त्य भएसँगै हाल जोगबुढा क्षेत्रको जीवनयापन निकै सहज भएको उहाँको भनाइ छ । उतिबेलाको दुःख देख्दा त अहिले धेरै विकास भएको उहाँले सुनाउनुभयो । साँदनी गाउँ भएर महाकाली कोरिडोर सडक निर्माण गर्न थालिएपछि साँदनीखोलामा पक्की पुल निर्माण भएको उहाँले बताउनुभयो । यो सडकखण्डको यस क्षेत्रमा छ किलोमिटर सडक कालोपत्रे भएको जानकारी उहाँले दिनुभयो । यो कोरिडोर पूर्ण रूपमा निर्माण हुन सके आधा घण्टामै गाडी चढेर महेन्द्रनगर पुग्न सकिने उहाँको भनाइ छ ।