• ८ फागुन २०८२, शुक्रबार

चिसोका कारण रोकिएका विकास निर्माणका काम सुचारु

blog

तीन महिना निर्माण कार्य रोकिएको बालमन्दिर माविको विद्यालय भवनमा ढलान कार्य गर्दै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन ८ गते ।
माथिल्लो हुम्लामा चिसोका कारण रोकिएका विकास निर्माणका कामहरू पुनः सुचारु भएका छन् । अत्यधिक चिसोका कारण सिमेन्टसम्बन्धी काम गर्न नसकिएपछि मङ्सिरदेखि माघसम्म रोकिएका योजना फागुन महिना लागेसँगै तापक्रम वृद्धि भएपछि धमाधम सञ्चालनमा आएका हुन् ।

निर्माण व्यवसायी विजय लामाका अनुसार अत्यधिक चिसोका कारण मङ्सिरदेखि माघसम्म सिमेन्ट प्रयोग हुने संरचना निर्माणका काम रोकिएका थिए । फागुन लागेसँगै तापक्रममा सुधार आएपछि ती कामहरू पुनः सुरु गरिएको उहाँले बताउनुभयो ।

सिमकोट गाउँपालिकाको बालमन्दिर माविको आरसिसी भवन, सडक ढलान, शिवमन्दिर निर्माण तथा खार्पुनाथ गाउँपालिकाको सङ्ग्रहालय भवन निर्माणको काम तीन महिना रोकिएपछि अहिले पुनः सुचारु गरिएको उहाँले जानकारी दिनुभयो । ती सबै संरचनामा सिमेन्टको प्रयोग हुने भएकाले चिसोका कारण सिमेन्ट सेट नहुने हुँदा काम रोक्नु परेको थियो । फागुन लागेसँगै चिसो घटेपछि सिमेन्ट सजिलै सेट हुन थालेकाले काम अघि बढाइएको हो । यी योजना पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन भएका हुन् ।

यता हिल्सा–सिमकोट सडक योजनाअन्तर्गत चिसोका कारण रोकिएका तीनवटा सडक निर्माण कार्य पनि पुनः सुरु गरिएको योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।

सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पनि चिसोका कारण रोकिएका ४० भन्दा बढी योजना अहिले सञ्चालनमा ल्याइएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । हिउँदमा अन्य काम सञ्चालनमा रहे पनि सिमेन्टसम्बन्धी योजनाहरू पूर्ण रूपमा रोकिएका थिए । फागुन लागेपछि ती योजना पुनः सुचारु गरिएको नाम्खा गाउँपालिकाले जनाएको छ ।

उत्तरी क्षेत्रका तीनवटा गाउँपालिकामा रहेका १२ वटा सिँचाइ र खानेपानी योजना पनि पुनः सञ्चालनमा ल्याइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो । चिसोका कारण तीन महिना काम रोक्नुपर्दा कार्यसम्पादन अवधि छोटिएको र अब उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई कामको चाप बढ्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, सघन शहरी विकास कार्यालय जुम्लाले पनि आफ्ना पाँचवटा योजनाको काम अहिले आएर सुचारु गरेको जनाएको छ । मङ्सिर महिनाबाट सुरु गर्नुपर्ने ती काम चिसोकै कारण रोकिएको र अहिले पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।