• ८ फागुन २०८२, शुक्रबार

नवलपरासी–२ मा प्रधान पुनः जनअनुमोदनको दौडमा

blog

चुनावी मैदानमा पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ ८ गते ।
नेपाल प्रहरीको उच्च कमान्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कूटनीतिक भूमिकामा सीमित हुने गर्छन् । तर, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको हकमा भने कथा फरक छ । सुरक्षा निकायको सफल नेतृत्वपछि राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्वका रूपमा परिचित प्रधान यतिबेला पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट पुनः जनअनुमोदनका लागि चुनावी मैदानमा उत्रनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्षसमेत रहनुभएका प्रधानले यसपटक आफ्नो निर्वाचन क्षेत्रको विकासलाई केन्द्रमा राख्दै ‘नवलपरासी विशेष’ प्रतिबद्धतापत्रसहित मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

वि.सं.२०७९ सालको आम निर्वाचनमा प्रधानले यसै क्षेत्रबाट ३४ हजार ७६४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उक्त जितलाई नवलपरासीको राजनीतिमा ‘ऐतिहासिक मोड’का रूपमा लिइन्छ । यसपटक उहाँले विगतमा सुरु भएका अधुरा कामहरू पूरा गर्ने, कृषि प्रधान क्षेत्र भएकाले समयमै मलखाद तथा सिँचाइको सुनिश्चितता गर्ने, र स्थानीय खोलाहरूबाट हुने क्षति रोक्न दीर्घकालीन पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेतृत्व : सुरक्षादेखि खेलकुदसम्म
प्रधानको पहिचान केवल राजनीतिज्ञमा मात्र सीमित छैन । उहाँको व्यावसायिक र सामाजिक पृष्ठभूमि उल्लेखनीय छ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकका रूपमा संगठनको सफल नेतृत्व गर्नुभएका प्रधानलाई निडर, व्यावसायिक र इमानदार अधिकृतका रूपमा सम्मान गरिन्छ ।

त्यसैगरी, उहाँले नेपाल ओलम्पिक कमिटीको अध्यक्षका रूपमा नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ ।

सुरक्षा निकायमा रहँदाको लामो अनुभवका कारण आम नागरिकले उहाँमाथि शान्ति–सुरक्षा सुदृढीकरण र विधिको शासन स्थापना गर्ने विषयमा भरोसा राखेका छन् । यद्यपि, मतदाताका बहुआयामिक अपेक्षाहरू पूरा गर्नु तथा परम्परागत राजनीतिक शक्तिहरूबीच फरक पहिचान कायम राख्नु उहाँका लागि अवसरसँगै चुनौती पनि बनेको छ ।