• ८ फागुन २०८२, शुक्रबार

सूचना प्रविधिको प्रयोग

blog

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको आमनिर्वाचन प्रचारप्रसारमा सूचना प्रविधिको व्यापक प्रयोग भएको छ । प्रविधिको सही प्रयोगले सूचना आदानप्रदानलाई छिटो, सुलभ र प्रभावकारी बनाएको छ । प्रविधिलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्नु पर्छ । प्रविधिको सदुपयोगले मुलुक लाभान्वित हुन्छ तर प्रविधिको दुरुपयोग गरियो भने यसले ठुलो समस्या र चुनौती थपिदिन्छ । यस पटक चुनाव प्रचारप्रसारको शैली र चुनावप्रतिको बुझाइ फरक छ । चुनाव प्रचारप्रसारमा सामाजिक सञ्जाल र कृत्रिम बुद्धि (एआई) को प्रयोग बढ्दो छ । यसले चुनाव प्रचारप्रसारलाई सजिलो बनाएको छ । साथसाथै सामाजिक सञ्जाल र एआईको दुरुपयोग गरी गलत र मिथ्या सूचना, द्वेषपूर्ण सामग्री र भ्रामक विवरणको प्रयोग चिन्ताको विषय पनि बनेको छ । नेपालमा डिजिटल साक्षरताको कमी छ तर सूचना सामग्रीको भने बाढी आएको छ । कुन सूचना सही हो र कुन गलत हो भनी छुट्याउन कठिन छ । राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जाल र एआईमार्फत चुनाव प्रचारप्रसारलाई तीव्रता दिएका छन् । दल र उम्मेदवारलाई जिताउन सूचना प्रविधिमार्फत गलत सूचना सामग्री तयार पारी मतदातालाई प्रभावित पार्ने प्रयास पनि भइरहेको छ । यस्तो काम रोकिएको छैन र रोक्न पनि कठिन छ । सामाजिक सञ्जाल र एआईबाट सिर्जित सामग्री सही वा गलत कस्ता हुन् भनी तिनको पहिचान गर्न र निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोग र सरकारले विभिन्न प्रयास भने गरिरहेका छन् ।

आसन्न निर्वाचनलाई लिएर आममतदाता, उम्मेदवार एवं सम्बद्ध पक्ष उत्साहित देखिएका छन् । विगतका निर्वाचनमा भाषण र नाराबाजी बढी हुने गरेकोमा यसपालिको निर्वाचनमा भने प्रचारको शैलीमा परिवर्तन भएको छ । निर्वाचन आयोगले निर्वाचनलक्षित भ्रामक सूचना पहिचान गर्न एआईमा आधारित सफ्टवेयर बनाएको छ । सफ्टवेयरले पहिचान गरेको सूचनाको विश्लेषण गरी प्रमाण सङ्कलन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइने भनी आयोगले विशेष निगरानी गर्दै छ । चुनाव प्रचारप्रसारका क्रममा मतदातासँगको भेटघाटमा सक्रिय उम्मेदवारको तस्बिर र भिडियोले यतिखेर सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । यस क्रममा आआफ्ना पक्षमा माहोल बनाउन भिड देखाउने होडबाजी नै चलेको छ । धेरै ठाउँमा एआईको दुरुपयोग गरेको पनि पाइएको छ । अहिले सञ्जालमा चर्चित उम्मेदवारदेखि केही नयाँ उम्मेदवारको तस्बिरसहित ठुलो सङ्ख्यामा मानिसको उपस्थिति देखाउन एआई प्रयोग गर्ने प्रवृत्ति तीव्र छ । झट्ट हेर्दा छुट्याउन नसकिने यस किसिमका तस्बिर र भिडियो प्रयोगले मतदातालाई नै भ्रमित बनाइरहेको छ । त्यस्ता तस्बिर र भिडियोमा उम्मेदवार र आसपासका केही व्यक्ति वास्तविक हुने भए पनि देखाइने भिड भने एआईद्वारा सिर्जना गरिएको हुन्छ, जुन वास्तविक जस्तै देखिन्छ । भिड देखाउने प्रतिस्पर्धामा पुरानादेखि नयाँ राजनीतिक दल सामेल छन् । उम्मेदवारका समर्थकले एआई प्रयोगमार्फत तस्बिर र भिडियोमा भिड देखाउन अग्रसरता लिइरहेका छन् । भिड देखाउने यस्तो प्रतिस्पर्धा निर्वाचन आचारसंहिताविपरीत काम हो । यसले निर्वाचनको माहोलमै असर पार्छ । 

नेपाली समाजमा कोही एक जनालाई नेता मान्ने र त्यसको वरिपरि हिँड्नु पर्छ भन्ने प्रवृत्ति अन्त्य भएको छैन । यसले पनि भिडलाई बढावा दिएको छ । यही मान्यताले जसरी पनि भिड देखाउन सामाजिक सञ्जाल प्रयोग/दुरुपयोग हुने गरेको छ । पुराना र नयाँ राजनीतिक दलले त्यही शैली स्विकारेको पाइन्छ । सञ्जालमा भिड देखाउने पुराना दलको प्रवृत्तिलाई नयाँ दलले झन् व्यापक बनाएका छन् । डिपफेकमार्फत आफूलाई फाइदा हुने गरी निर्वाचनका लागि तस्बिर तथा भिडियो बनाएर प्रचारप्रसार गर्ने शैली पनि देखिएको छ । एआई नेपालका लागि नौलो अभ्यास हो । यहाँ यससम्बन्धी प्रस्ट कानुन छैन । त्यसैले यसको दुरुपयोग हुँदा कस्तो कारबाही गर्ने भन्ने अन्योल छ । नैतिक हिसाबले कुरा गर्दा एआई प्रयोग गरेर जोकसैले पोस्ट सार्वजनिक गरे पनि उम्मेदवार त्यसको जिम्मेवार हुनु पर्छ । खास गरी एआईद्वारा सिर्जना गरिएका यस्ता गलत पोस्टले भ्रम फैलाउने र त्यसले निर्वाचनलाई समेत असर पार्छ । यो काम निर्वाचन आयोगको आचारसंहिताविपरीत हुन्छ । आयोगले प्रविधिको दुरुपयोग रोक्ने ढङ्गले आचारसंहिता बनाएर जारी गरेको छ । सामाजिक सञ्जालमा एआई प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्पे्रषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण जस्ता भ्रामक टीकाटिप्पणी कसैले पनि गर्न वा गराउन नहुने विषयलाई आयोगले आचारसंहितामा समेटेको छ । अतः सूचना प्रविधिको सही प्रयोग गरी स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत मुलुकलाई निकास दिन सबै जुटौँ, भ्रमको खेती कसैले पनि नगरौँ ।