• ८ फागुन २०८२, शुक्रबार

जीर्ण सडकले भकुण्डेका घरबास प्रवर्धनमा समस्या

blog

भकुण्डेका घरबासमा पुग्नुभएका आन्तरिक पर्यटक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, फागुन ८ गते ।
घरबास गाउँले परिचित भकुण्डेका नागरिक गुणस्तरीय सडकको पर्खाइमा हुनुहुन्छ । घरबास सञ्चालक सडक अभावमा चिन्तित हुनुहुन्छ । सडक जीर्ण हुँदा पाहुनाले चाहेर पनि आउन नसकेको उहाँहरु दुखेसो सुनाउनुहुन्छ । उहाँरुले दैनिक आउजाउ र कृषि उपजको ढुवानीमा समेत सडक बाधक बनेको बताउनुहुन्छ ।  

भकुण्डे र सदरमुकाम बागलुङ बजारको दूरी १५ किलोमीटर मात्रै भए पनि सडक सञ्जालहरु जीर्ण छन् । ठेक्का लागेका सडक पनि समयमा नबन्दा स्थानीयले यात्रामा सास्ती खेप्न बाध्य हुनुहुन्छ । बागलुङ नगरपालिका वडा नं. १० को भकुण्डेका स्थानीय भन्नुहुन्छ, ‘‘सडक अप्ठ्यारो भएकाले पर्यटक भित्राउने र प्रवर्धनात्मक कार्यक्रम गर्न कठिन भएको छ ।’’

भकुण्डेबाट धौलागिरि, अन्नपुर्ण, माछापुच्छ्रे, निलगिरी र मनास्लु हिमाली श्रृंखला आँखै अगाडि देख्न सकिन्छ । सदरमुकामबाट नजिक भए पनि पूर्वाधार विकासमा पछि परेको भकूण्डेवासी बताउनुहुन्छ । सडक जीर्ण हुँदा स्थानीयले दैनिक उपभोग्य सामग्री लैजान समेत सास्ती खेप्नुपरेको स्थानीय यामबहादुर थापाले बताउनुहुन्छ । ‘‘हामी घरबास चलाएर पर्यटक भित्र्याउने काम गर्न तयार छौं’’ घरबास सञ्चालक समेत रहनुभएका थापाले भन्नुभयो, ‘‘सडकको कारण पाहुनाले दुःख पाएको गुनासो बढी आउ“छ ।’’

२२ वर्षअघि खुलेको सडकको ट्रयाक अझै अलपत्र पर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको थापाको भनाइ छ । भकुण्डे पशुपालन, कोदो, आलु, मकै जस्ता अन्न र तरकारी उत्पादनमा अब्बल गाउँ मानिन्छ । वडा अध्यक्ष तिलबहादुर थापा सडक सहज नभएसम्म अरु विकासको ढोका खुल्ने संभावना नरहेको बताउनुहुन्छ । ‘‘गुणस्तरीय सडक बनाउन सकेमात्र गाउँबाट बसाइ सराई रोक्न सकिन्छ’’ थापाले भन्नुभयो, ‘‘प्रदेश र सङ्घीय बजेटका ठेक्का अलपत्र पर्दा सडक गुणस्तरीय बन्न सकेन् ।’’ 

भकुण्डेमा रहेका बराहताल, भ्युवाइन्ट, होमस्टेले पनिपर्यटक लोभ्याउने गर्छ । यहा“को अतिथि सत्कार घरबासमा मात्रै वर्षमा ३० हजारबढी पर्यटक पुग्ने गरेका छन् । ‘‘पर्यटकहरु स्तरीय सडक अभावले सहज यात्रा गर्न नसकेको गुनासो गर्छन्’’ सञ्चालक थापाले भन्नुभयो, ‘‘पर्यटन प्रवर्धनमा सरोकारवालाको चासो भएमा विकासले गति लिने सक्छ ।’’

अमेरिका र बेलायतका भेगन समूहहरु समेत बागलुङको भकुण्डे, रायडा“डाको बौद्ध गुम्बा, काठेखोला गाउ“पालिका वडा नं. ७ को बौर सम्मको पैदल यात्रा गर्न रुचाउने गर्छन् । यहा“ पैदलयात्रीले ७ दिन सम्मको यात्रा गर्दै आएका छन् । ‘‘आर्कषक पदमार्ग भएमा पर्यटकको संख्या दोब्बर बढाउन सकिन्छ’’ पर्यटन व्यवसायी महादेव शर्माले भन्नुभयो ।