• ८ फागुन २०८२, शुक्रबार

तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका २५ उजुरी

blog

जिल्ला प्रशासन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन ८ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरू बढ्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई लक्षित गरी भइरहेका विभिन्न गतिविधिमा आचारसंहिता विपरीतका कार्य भएको भन्दै हालसम्म २५ वटा उजुरी दर्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूको सङ्ख्या २५ पुगेको जानकारी दिँदै ती उजुरीका सम्बन्धमा सम्बन्धित पक्षसँग स्पष्टीकरण लिने र सचेत गराउने कार्य भइरहेको बताउनुभयो । प्रजिअ तिवारीका अनुसार तनहुँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले केही सामुदायिक विद्यालयमा वितरण गरेको डिजिटल स्मार्ट बोर्डमा उम्मेदवारको तस्बिर र सङ्केत फेला परेपछि उक्त सामग्री हटाउन लगाइएको छ ।

प्रजिअ तिवारीले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन हामीले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेका छौँ ।’’ प्रजिअ तिवारीका अनुसार “धेरैजसो उजुरीहरू राजनीतिक दलले गर्ने भीड प्रदर्शन, झण्डाको अत्यधिक प्रयोग र सरकारी कर्मचारीहरू निर्वाचन प्रचारप्रसारमा सङ्लग्न भएको विषयसँग सम्बन्धित छन् । आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने र अहिलेलाई मौखिक तथा लिखित रूपमा सचेत गराउने कार्य भइरहेको उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नं. १ मा १६ जना र क्षेत्र नं. २ मा ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । जिल्लाभर कुल दुई लाख ५४ हजार ३९७ मतदाता रहेको यस निर्वाचनमा सुरक्षा व्यवस्थालाई समेत मजबुत बनाइएको प्रशासनले जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमनका लागि छुट्टै टोली परिचालन गरिएको र कुनै पनि किसिमका अवाञ्छित गतिविधि देखिए तत्काल जानकारी गराउन प्रजिअ तिवारीले अपिल गर्नुभएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले पुनः आग्रह गरेको छ ।