यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) फागुन ८ गते । प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र न १ का नेकपा एमाले उम्मेदवार शालिकराम अधिकारीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्न सक्ने कामहरूको विवरण सहित पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
पार्टीले केन्द्रमा घोषणा पत्र सार्वजनिक गर्दाको दिनमा नै उम्मेदवार अधिकारीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले प्रतिबद्धता पत्रमा पूर्वाधार विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कृषि तथा सिँचाइ, शिक्षा, स्वास्थ्य, खानोपानी, उद्योग व्यवसाय, पर्यटन, आवास तथा भूमि व्यवस्था, युवा रोजगार तथा खेलकुद र सूचना प्रविधिलाई प्राथामिकता दिनुभएको छ ।
प्रतिबद्धता पत्रमा अधिकारीले चर्चित जब्दिघाट पुलको पुनः निर्माण कार्य, निर्वाचन क्षेत्रका सबै रणनैतिक सडकहरू कालोपत्रे, नदी तथा खोलाको कटान रोक्नका लागि व्यवस्थित तटबन्धन गर्ने योजना अगाडि सार्नुभएको छ । त्यसैगरी ‘राष्ट्रको पहिचान, किसानको सम्मान’ भन्ने नारासहित किसानलाई सुविधा दिने, मल र बीउबिजनको प्रभावकारी व्यवस्था गर्ने, कृषिमा व्यवसायिकरण र आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
एक पालिका एक बहुप्राविधिक शिक्षालय कार्यक्रम सञ्चालन गर्ने, प्रविधिको प्रयोग गरेर शैक्षिक गुणस्तर वृद्धि गने, सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याइने, बर्दिया अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने, एक पालिका एक अस्पताललाई विशेष प्राथामिकता दिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
बर्दियामा जल्दो बल्दो समस्याको रुपमा रहेको मानव वन्यजन्तु द्व्रन्द्व न्यूनीकरणलाई समेत अधिकारीले एजेण्डा बनाउनु भएको छ । उहाँले बाघको सङ्ख्या यकिन गरी वन क्षेत्रको अनुपातमा बाघको सङ्ख्या व्यवस्थापन गरिने, खुल्ला चिडियाखाना सञ्चालनका लागि नीतिगत व्यवस्था गरी समस्याग्रस्त वन्यजन्तुलाई व्यवस्थापन गर्ने र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका साथै राहत वितरणलाई सहज बनाउने एजेण्डा अगाडि सार्नु भएको छ ।
त्यसैगरी बर्दियाका मुर्तिहा र रजनवा नाका सञ्चालन गर्ने र बन्द भएका छोटी भन्सार कार्यालय सञ्चालन ल्याउने उम्मेदवार अधिकारीले प्रतिवद्धता जनाउनु भएको छ । बेरोजगार युवाहरूलाई रोजगार दिनका लागि ‘एक घर, एक रोजगार’ कार्यक्रमलाई सार्थक बनाउने हस्तकलाका सामग्री निर्माणलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
बर्दियाका कतिपय समस्याहरू प्रतिवद्धता पत्रमा समेट्न नसकिएको बताउँदै उम्मेदवार अधिकारीले जनताको प्रतिनिधिको रुपमा निर्वाचित भएमा जनतासँगै रहेर जनता कै मनोभावना अनुसार काम गर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
बर्दियामा पत्रकार सम्मलेन गरेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने नेकपा एमाले पहिलो पार्टी हो ।