• ८ फागुन २०८२, शुक्रबार

सप्तरीमा एकीकृत सुरक्षा योजनाअनुसार गस्ती तीव्र

blog

एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा गस्ती गर्दै ।

देवराम यादव
सप्तरी, फागुन ८ गते ।
सप्तरीमा एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा गतिविधि तीव्र बनाउँदै संयुक्त गस्ती बढाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सप्तरी जिल्लामा तैनाथ श्री बरख गणले जिल्ला प्रशासनको एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा गतिविधि तीव्र बनाएको नेपाली सेनाका बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले बताउनुभयो । जनतालाई सुरक्षा प्रत्याभूति दिलाउने लक्ष्यसहित सवारी (भेहिकल) तथा पैदल गस्ती दुवैमा व्यापक वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो ।

संवेदनशील क्षेत्र, मतदान केन्द्र वरपर, मुख्य बजार क्षेत्र, सीमा नजिकका इलाका तथा आवागमनका प्रमुख मार्गहरूमा नियमित निगरानी, चेकपोस्ट सञ्चालन र गस्ती कार्यक्रम सशक्त रूपमा कार्यान्वयन भइरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध आवागमन, अफवाह तथा अशान्ति फैलाउने प्रयासलाई समयमै नियन्त्रण गर्न सुरक्षाकर्मीहरू २४ घण्टा सक्रिय रहेको बताइएको छ ।

स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीचको समन्वयमा सञ्चालन भइरहेको एकीकृत सुरक्षा व्यवस्थाले शान्ति–सुव्यवस्था कायम राख्न मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।