• ८ फागुन २०८२, शुक्रबार

कृषिमा यान्त्रिक प्रयोग बढ्दै

blog

इलाम नगरपालिका–५, घलेटारमा मेसिनको प्रयोगबाट चिया स्किपिङ गरिँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन ८ गते । वैदेशिक रोजगारीले गाउँमा युवा रित्तिँदै गर्दा इलाम नगरपालिका–२, सुम्बेकका युवा मुकेश रसाइली भने गाउँमै रोजगारी गर्न व्यस्त हुनुहुन्छ । फागुन सुरु हुँदा मुना पलाउन थाल्ने भएकाले रसाइलीलाई गाउँभरिको चिया काट्न भ्याइनभ्याइ छ । 

अहिले इलामका डाँडापाखामा लगाइएका चियाको ‘स्किपिङ’ गर्ने मुख्य सिजन हो । चिया रोप्न सुरु भएदेखि नै चिया ‘स्किपिङ’ अर्थात् चियाको टुप्पा काट्न प्रयोग गरिँदै आएको परम्परागत फलामे हतियार सिक्कलले भन्दा रसाइलीलाई हाते मेसिनले निकै सजिलो र छिटो हुने गरेको छ । 

सुम्बेकबाट आएर इलाम नगरपालिका–५, घलेटारमा चिया काट्दै गरेका रसाइली मेसिनको प्रयोग गर्दा काममा निकै छिटो र सजिलो भएको बताउनुहुन्छ । “पहिला त सिक्कलले काटिन्थ्यो, ढिलो हुने, हातमा चोट लाग्ने, काम गर्नै पनि कठिन हुन्थ्यो,” रसाइली भन्नुहुन्छ, “यो मेसिन ल्याएपछि दैनिक कमाइ पनि राम्रो छ, काम गर्न छिटो र सजिलो भएको छ ।” 

गाउँमा युवा नै कम भएकाले धेरै जसो किसानले आफूलाई चिया काट्ने जिम्मा दिने गरेको रसाइली बताउनुहुन्छ । पुस लागेसँगै चिया काट्नै व्यस्त रसाइलीको दैनिक कमाइ पनि राम्रो रहेको छ । “यो स्किपिङ मेसिनलाई धेरैले रुख काट्ने चेन्सो भन्छन् तर त्यो होइन, चिया काट्ने अलग्गै मेसिन हो । यसमा पेट्रोल आवश्यक पर्छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म म यसैमार्फत काम गरिरहेको छु,” रसाइलीले भन्नुभयो, “तेल चियाधनीले हाल्दिन्छन्, दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रुपियाँ ज्याला दिन्छन् । दैनिक रोजगारी चलेकै छ ।”

रसाइलीका अनुसार १० जना श्रमिकले एक दिनमा गर्ने काम बराबरको काम एकै श्रमिकले मेसिनमार्फत हुने गरेको छ । एक जना श्रमिकले एक दिन चिया काटेको ज्याला सात सयदेखि एक हजार रुपियाँ लिने गरेका छन् । श्रमिकको ज्यालाभन्दा मेसिनले काम गराएको ज्याला सस्तो पर्ने भएकाले पनि धेरै चिया किसानले मेसिनकै प्रयोग थालेको रसाइलीको बुझाइ छ । उहाँले चिया स्किपिङ मेसिनलाई २५ हजार रुपियाँसम्म पर्ने गरेको बताउनुभयो । 

चियाको स्किपिङ गर्न मात्र होइन चियाको मुना टिप्न पनि पछिल्लो समय धेरै किसानले मेसिनकै प्रयोग थालेका छन् । चियामा काम गर्ने श्रमिक नपाउँदा मेसिन प्रयोग गर्नु किसानको बाध्यता पनि रहेको सूर्योदय नगरपालिकाका चिया किसान दिनेश श्रेष्ठ बताउनुहुन्छ । गएको वर्ष मेसिनकै प्रयोगबाट दैनिक अढाई सय किलोसम्म चिया टिपेको माईजोगमाई गाउँपालिका लप्सीबोटेका निर्मल काफ्लेको बुझाइ पनि काम गर्न छिटोछरितो र सस्तो भएकाले किसानले मेसिनको प्रयोग बढाएको पाइन्छ । 

चियामा मात्र होइन, गाउँमा बारी खनजोत गर्नदेखि मल, दाउरा, घाँस ओसार्नसमेत अचेल मेसिनको प्रयोग बढेको छ । गएको वर्षदेखि त्यस्तै मेसिन प्रयोग गर्दै आउनुभएका इलामका किवी किसान देउकुमार राई मेसिनले जीविका नै फेरिने बताउनुहुन्छ । राईले सन्दकपुर गाउँपालिकाको माई पात्तालमा करिब दुई सय रोपनी जमिनमा किवी खेती गर्दै आउनुभएको छ । 

अहिले व्यावसायिक किसान आफैँले यस्ता साना मेसिन खरिद गरे पनि साना किसानको भने ती मेसिन किन्न त्यति पहुँच नपुग्ने राईको बुझाइ छ ।