प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन ७ गते । सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई केन्द्रमा राख्दै ६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
उहाँले सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसीबोका, टिमुर तथा ताजा तरकारी गरी करिब साढे तीन अर्ब रुपियाँ बराबरको उत्पादन निर्यात भइरहेको उल्लेख गर्दै उक्त उत्पादनलाई वार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिइएको बताउनुभयो । कृषि, पशुपालन, वन पैदावार, बागवानी तथा तरकारी क्षेत्रमा सीप, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी वृद्धि गर्ने कार्ययोजना अघि सारिएको उहाँको प्रतिबद्धता छ।
स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरणमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सल्यानी उत्पादनको पहिचान स्थापित गर्ने, आधुनिक शीत भण्डार निर्माण गर्ने तथा बजार विस्तारमा पहल गर्ने उहाँले बताउनुभयो। बिउबिजन, मल, कृषि सामग्री तथा प्राविधिक सहयोगको उपलब्धता सुनिश्चित गरिने पनि उल्लेख गरिएको छ।
पारम्परिक सीपमा आधारित खुकुरी उद्योग, बाँस तथा निगालोका सामग्री र तयारी पोशाकलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक बनाउन पहल गरिने प्रतिबद्धता छ। सल्लाको खोटो, रिठा, तेजपात (दालचिनी) लगायत जडिबुटीको व्यवस्थित उत्पादन, सङ्कलन र बजारीकरणमा जोड दिइने बताइएको छ।
जिल्लाका प्रमुख तथा स्थानीय बजारको आधुनिकीकरण, बसपार्क व्यवस्थापन, उद्योग–व्यवसाय प्रवर्धन तथा तीनै तहमा देखिएको दोहोरो कर प्रणाली अन्त्यका लागि पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। लघुवित्त पीडितको समस्या समाधान, जनता आवास कार्यक्रम सञ्चालन तथा दलित, महिला, जनजाति र अल्पसङ्ख्यक लक्षित कार्यक्रम विस्तारमा पनि ध्यान दिइने बताइएको छ। कृषि सहकारी सुदृढीकरण, ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम तथा अन्तरपालिका व्यापार प्रवर्धनलाई प्राथमिकतामा राखिएको छ।
नीतिगत प्रतिबद्धतामा सुशासन
उम्मेदवार मल्लले सुशासनलाई नीतिगत प्राथमिकतामा राख्नुभएको छ। भ्रष्टाचार, अनियमितता र बेरोजगारी न्यूनीकरणका लागि लोकतन्त्र सुदृढीकरण, राजनीतिक स्थायित्व र शान्ति–सुरक्षा कायम गर्दै युवा उद्यमशीलतामार्फत उत्पादकत्व वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको गुणस्तर सुधारलाई पनि प्राथमिकता दिइएको छ। संघीय शिक्षा ऐन पारित गर्न पहल, आङ्गिक तथा कृषि क्याम्पस स्थापना, डिजिटल सिकाइ प्रणाली विस्तार तथा प्राविधिक शिक्षा प्रवर्धन गर्ने उल्लेख छ।
सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवन सम्पन्न गरी विशेषज्ञ सेवासहित ५० शय्यामा स्तरोन्नति गर्ने र क्रमशः १०० शय्यासम्म विस्तार गर्ने योजना अघि सारिएको छ। सबै पालिकामा १५ शय्याको अस्पताल र प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने बताइएको छ।
‘दुई वर्षभित्र पूर्ण उज्यालो सल्यान’
विद्युत, सिँचाइ र खानेपानीलाई प्राथमिकतामा राख्दै दुई वर्षभित्र सल्यानलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइएको छ। नाङ्गो तार विस्थापन गरी कभर्ड कन्डक्टर तथा एबिसी केबल जडान, काठका पोल हटाउने तथा १३२ केभी प्रसारण लाइन सवस्टेशन निर्माण गर्ने प्रतिबद्धता छ।
शारदा-बबई तथा भेरी काेरिडोरका सिँचाइयोग्य जमिनमा सतह तथा लिफ्ट सिँचाइ विस्तार, बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण तथा सुरक्षित खानेपानी योजनाको विस्तार गरिने बताइएको छ । उम्मेदवार मल्लले समग्र विकास र समृद्धिका लागि स्पष्ट कार्ययोजना कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।