• ७ फागुन २०८२, बिहिबार

प्रजातन्त्र दिवसमा सहिदका स्मारकमा माल्यार्पण

blog

सहिदको स्मारकमा माल्यार्पण गर्दै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, फागुन ७ गते ।
प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महान सहिदहरुको स्मारकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने चार महान सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठप्रति उहाँले सहिदगेट पुगेर श्रद्धापूर्वक माल्यार्पण गर्नुभएको हो ।

माल्यापर्ण कार्यक्रममा सभामुख, मन्त्री, सांसद, राष्ट्र सेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतको उपस्थिति रहेको थियो । यसैबिच, मुख्यमन्त्री शाहले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा लोकतन्त्रमा जनता मालिक रहेको उल्लेख छ । यसैगरी, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको उल्लेख गरिएको छ । जेन्जी युवाहरूले उठाएको सुशासन कायम र भ्रष्टाचार अन्त्यको मागसहित भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ, संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वका लागि निर्वाचन बाहेक अर्को विकल्प नभएकोले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु/गराउनु हामी सबैको दायित्व हो ।