गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ६ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले फागुन २१ गतेको निर्वाचनमा आफ्नो पार्टी बलियो बन्ने रिपोर्ट प्राप्त भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले विगतका चुनावमा देशको सबै क्षेत्रमा पार्टीको उम्मेदवार नहुँदा समानुपातिक मत घटेकाले यस पटक १६४ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार भएकाले मत बढ्ने विश्वास व्यक्त गर्नुभयो । “नयाँ राजनीतिक दलसँग दर्शन, विचार र सिद्धान्त केही छैन । ती दलले आफ्नो एजेन्डासम्म दिन सकेका छैनन् । नयाँको चाल हेर्दा दर्शन, विचार र सिद्धान्तको कुरा त छोडिदिनूस् । एजेन्डासम्म दिन सकेनन्,” उहाँले भन्नुभयो । परिवर्तनको एजेन्डा बोक्ने नेकपा मात्रै भएको उहाँले दाबी गर्नुभयो ।
प्रवक्ता सापकोटाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिडियामा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । “केही सीमित सञ्चार माध्यम पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिताविपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेका छन्,” उहाँले भन्नुभयो, “यस प्रकारका गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँछ । हामी सबै सञ्चार माध्यमलाई पत्रकारिताको मूल्यमान्यता, मर्यादा तथा नैतिकता पालन गर्न र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिता कडाइका साथ पालन गर्न आग्रह गर्दछौँ ।” उहाँले देश चुनौतीपूर्ण अवस्थामा भएकाले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन हुने वातवारण मिलाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।