सुधा देव
भारदह(सप्तरी), फागुन ३ गते । सप्तरीको महिलाको प्राथमिकतामा महिला उम्मेदवार पर्न सकेको छैन । ३३ प्रतिशत महिलालाई आरक्षण दिनुपर्ने महिलाहरूबाट आवाज उठिरहँदा सप्तरीका महिलाहरूले अहिलेसम्म महिला उम्मेदवारलाई प्राथमिकता राख्न नसकेको स्थानीयको भनाइ छ ।
पार्टीमा आबद्ध भएका अधिकांश महिलाहरू यतिबेला आफ्नो पार्टीबाट प्रतिनिधि सभाका चुनावका लागि उम्मेदवार भएका उम्मेदवारलाई सघाउन घरदैलो कार्यक्रम र चुनावी प्रचारप्रसारमा व्यस्त रहँदै आएको स्थानीय मतदाता कृतिका यादवले बताउनुभयो । उहाँले भन्नुभयो, महिलाले महिला उम्मेदवारलाई समर्थन र सहयोग गरेको देखिँदैन ।
यस पटक जिल्लाको इतिहासमा पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनका लागि २० जना अर्थात कुल उम्मेदवारको १९.०४ प्रतिशत महिलाले उम्मेदवारी दिनुभएको छ । जसमध्ये ७ जना राजनीतिक पार्टी र १३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो । जिल्लामा उम्मेदवारी दिनुभएका सबै जना महिला उम्मेदवार पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा होमिनुभएको हो ।
जिल्लाको क्षेत्र नं २ बाट नेपाल जनता पार्टीबाट उम्मेदवारी दिनुभएका रंजु कुमारी ठाकुरले महिलाको मात्र मत प्राप्त भइदियो भने महिला उम्मेदवारलाई निर्वाचित हुन कसैले रोक्न र छेक्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले पनि मधेसका पछाडि पारेका महिलाहरूको हक अधिकार सुनिश्चित गर्दै चौतर्फी विकासका लागि संसदमा धेरै भन्दा धेरै महिलाले प्रतिनिधित्व गर्न आवश्यक रहेकोले महिलाको सहयोग महिला उम्मेदवारलाई आवश्यक छ ।
महिलालाई जुलुस, सभा, सम्मेलनको आकर्षण र भोट बैंकको रूपमा मात्र नभएर नेतृत्व तहमा पनि प्रतिनिधित्व गर्नुपर्ने आवश्यक भएकोले उम्मेदवारी दिनुभएको महिलालाई प्राथमिकतामा राखेर महिलाहरूले मतदान गरेर निर्वाचित गर्नुपर्ने भएपनि त्यस्तो ब्यबहार महिलाहरूमा नरहेको हनुमान नगर कंकालिनी नगरपालिकाका मतदाता एवं महिला नेतृ शुशिला यादवले बताउनुभयो ।
जिल्लाको इतिहासमै महिलाले प्रतिनिधिसभा निर्वाचनको लागि पहिलो पटक यति धेरै संख्यामा उम्मेदवारी दिएको राजविराज नगरपालिकाका पूर्व प्रमुख शैलेश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, राजनीतिमा महिलाको आकर्षण बढेको छ भने राजनीतिमा नेतृत्व लिन समेत महिला अगाडि आउनु सकारात्मक भएको बताउँनुभयो । उम्मेदवारी दिएका मध्ये ठाकुर र
कर्ण दुई जना राजनीतिमा पुरानै अनुहार भएपनि १८ जना नयाँ अनुहारको रह्नुभएको छ ।
अन्य क्षेत्र भन्दापनि राजनीतिमा महिला सबैभन्दा बढी विभेदमा परेका छन् । राजनीतिक गर्ने उम्मेदवार महिलाको क्षमता र नेतृत्वको सवालमा अझै सवाल उठाई रहेको अवस्था छ । पितृसत्तात्मक सोच अझैपनि समाजमा कायम रहेकोले निर्णय पुरूषको हातमा भएकोले मनले नभएर बाध्यताले अहिलेसम्म महिलाबाट पनि महिला विभेदको सिकार हुँदै आएको बेला राजनीतिक क्षेत्रमा भएका झन विभेद हुदै आएको राजनीतिकमा दुई दशकदेखि सक्रिय रहनु भएकी जनता समाजबादी पार्टीकि नेतृ रमिला साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, पार्टीमा लागेका महिलाले पार्टी प्रति इमानदारिता, पार्टीको जिम्मेवारी र अवसरको सवाल भएकोले पार्टीको महिला उम्मेदवार बाहेकका महिला उम्मेदवारलाई सहयोग गर्ने अवस्था नरहेको बताउनुभयो । अझ राजनीतिक नबुझ्ने महिलालाई घरका पुरूषले निर्देशदिएको उम्मेदवारलाई नै मतदिने हुनाले समस्या भएको हो ।
राजनीतिको हेरेक पदमा महिलाको संख्यामाको आधारमा आरक्षण नभएसम्म महिला ठाउँमा पुग्न अझै समय लाग्ने उहाँले बताउनुभयो ।