चित्र मिजार
सिन्धुपाल्चोक, फागुन ३ गते । भूकम्पअघि सुनकोशी गाउँपालिका–४, यमुनाडाँडा मिजार बस्तीका दर्जनभन्दा बढी घरधुरीले भगटेपँधेरोस्थित दुई वटा ढुङ्गेधाराको पानी उपभोग गर्थे । उक्त धारामा पानी लिन करिब २० मिनेटदेखि ३० मिनेट समय लाग्थ्यो तर २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त दुई वटै धाराको पानी जमिनभित्र भासियो । बर्सौंदेखि सोही ढुङ्गेधाराका पानी उपभोग गरेर दैनिकी चलाउने मिजार बस्तीका दर्जनभन्दा बढी घरधुरीलाई अहिले पानीको हाहाकार भएको छ । भूकम्पपछिका १० वर्ष बित्दासमेत उनीहरूको खानेपानीको हाहाकारको समस्या कसैले समाधान गरेन । न हालसम्म कसैले चासो देखाएका छन् ।
धारा, पानी उपलब्ध गराउन वडा कार्यालयदेखि सङ्घीय सरकारसम्म र सरोकारवाला निकाय सबैलाई लिखित मौखिक आग्रह गरिए पनि कसैले नसुनेको स्थानीय सीता मिजारले पीडा सुनाउनुहुन्छ । चुनावैपिच्छे विभिन्न दलका उम्मेदवार घरदैलोमा आएर धारा बनाइदिन्छौँ, रोजगारी दिन्छौँ, दलितलाई अधिकार दिन्छौँ भनेर भोट माग्छन् तर भोट हालेपछि नाकमुख देखाउँदैनन्, उहाँले दुःखेसो पोख्नुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घरदैलो अभियानमा जुटेका दलका नेतालाई मत दिनुअघि जसले धारा दिन्छ, उसैलाई भोट दिने सो बस्तीका सन्तोष मिजारको प्रतिक्रिया छ । बर्सौंदेखि खानेपानीको अभाव छ, रोजगारी केही छैन्, कमाउन र उत्पादनका केही काम दिएका छैनन् तर भोट माग्न आउँछन् उहाँले बताउनुभयो । यसपालि जसले खानेपानी दिन्छ, त्यही दल र उम्मेदवारलाई मत दिने मिजार बस्तीका स्थानीयले बताए ।
पुस्तौँदेखि भगटेधारोबाट पानी उपभोग गर्नु पर्दा स्थानीयलाई अति नै असहजता छ । भूकम्पले भासिएको ढुङ्गेधारोमा सानो पानी आउँछ । गीता मिजारले सुनाउनुभयो, “उक्त ढुङ्गेधारोमा एक गाग्री पानी थाप्न आधा घण्टा समय लाग्छ । त्यही पनि पालो पाइनसक्नु हुन्छ ।” अरू ठाउँका लागि धारा निर्माणका लागि बजेट नआएको होइन तर मिजार बस्ती, नेपाली बस्ती, विक बस्तीको धारा निर्माणका लागि बजेट नआएको सन्तोषले बताउनुभयो । दलित समुदायलाई सबैखाले विकास निर्माणबाट उपेक्षा गरिएको उहाँको आरोप छ । प्रतिनिधि सभा निर्वाचन, प्रदेश सभा निर्वाचन, स्थानीय तह निर्वाचनका उम्मेदवार र नेता आएर दलित बस्तीमा खानेपानी ल्याइदिने आश्वासन दिए तर कहिल्यै पूरा नगरेको गोरे विकले गुनासो गर्नुभयो ।