सन्तोष दहित
दाङ, फागुन २ गते । वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई “गोतामे पत्रकारिता स्वर्ण पदक” ले सम्मान गरिएको छ । शर्मालाई एक तोला सुनको तक्मासहितको पदक प्रदान गरिएको हो ।
शनिबार घोराहीको नेपाल पत्रकार महासंघमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले एक कार्यक्रम आयोजना गरेर उहाँलाई कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरूषोतम खनालले तक्मा लगाई सम्मान गर्नुभयो । ९५ वर्षीय शर्मा नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष तथा नयाँ युगवोध राष्ट्रिय दैनिकका संस्थापक सम्पादक एवं दाङका अग्रज पत्रकारसमेत हुनुहुन्छ ।
प्रतिष्ठानले दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा “गोतामे पत्रकारिता स्वर्ण पदक” हरेक वर्ष यो स्वर्ण पदक प्रदान गर्दैआएको छ । उक्त पदक पहिलो पटक २०६८ मा मकवानपुरका पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले जानकारी दिनुभयो । त्यसैगरी विराटनगरका मोहन भण्डारी, राजविराजका शिवहरी भट्टराई, झापाका मदन ढकाल, पाल्पाको मेघराज शर्मा, सप्तरीका भोला पासवालाई प्रदान गरिएको उहाँले बताउनुभयो ।
यस्तै भैरहवाका अर्जुन ज्ञावली, दमकमा केशब आचार्य, महेन्द्रनगरका चित्राङ्ग थापा, सप्तरीका बैद्यनाथ झा, धनुषाका मोनिका झा, कास्कीका बद्रीविनोद खनाल, सूदुरपश्चिम दार्चुलाको मनोज बडुलाई उक्त पदक प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । प्रतिष्ठानले काठमाडौं बाहिर रहेर पत्रकारितामार्फत समाजमा योगदान दिने व्यक्तिलाई स्वर्ण पदक प्रदान गर्दैआएको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम प्रतिष्ठानका सचिव एवं स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमको छोरा हिमालचन्द्र गौतमले विषयमाथि प्रकाश पार्दै पुरस्कार १० हजार राशीबाट सुरु गर्दै आधा तोला सुनको तक्मा हुँदै हाल एक तोलाको सुनको तक्माको पदक दिने थालिएको बताउनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले सम्मानित शर्माको योगदान तथा जिवनीबारे चर्चा गर्नुभयो । स्वर्गीय पत्रकार गौतमले वीरगञ्जमा रही मातृभूमि पत्रिकाको अन्तिम पृष्ठमा नियमित रूपमा लेख्दै देश र समाजका विविध विषय उजागर गर्नेगरेको प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार गौतमको जन्म १९९६ मा वीरगन्जमा भएकोथियो । निधन २०४६ फागुन २ मा भएको थियो ।