ललितपुर, फागुन २ गते। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताउनुभएको छ। उहाँले नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने बताउनुभएको छ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा जाने बताउनुभयो।
“सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ,” उहाँले भन्नुभयो।
प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टीले धारणा बुझ्ने प्रयास गरिरहेको बताउनुभयो। प्रचारप्रसारका गतिविधिबारे नियमित रुपमा जानकारी गराइने उल्लेख गर्दै उहाँले पार्टीको विषयमा विचार–विमर्श गर्दै जाने बताउनुभयो। यही फागुन ६ गते जनकपुरमा पार्टीले जनसभा आयोजना गर्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो। कांग्रेससँगका अपेक्षा बुझ्न डबली कार्यक्रममार्फत कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो।
प्रवक्ता चालिसेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति नेपाली कांग्रेसको उच्च सम्मान रहेको उल्लेख गर्दै प्रचारप्रसारका गतिविधि विवेकपूर्ण हुने र जनताको घरदैलोमा सम्मानजनक तरिकाले उपस्थित हुने बताउनुभयो। कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उहाँले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताउनुभयो।
प्रवक्ता चालिसेले लोकतन्त्रको संरक्षण र व्यवस्थाको रक्षाका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताका साथै आम नागरिकको संग्लग्नता जरुरी भएको बताउनुभयो।
“देशको अर्थतन्त्र र नागरिकसँग भएका क्षमता तथा सम्भावनालाई कसरी देशको अर्थतन्त्रमा पुँजीकृत गर्ने भनेर कांग्रेसले ध्यान दिन्छ, देशभित्र लगानीको वातावरण तयार गर्न, देशभित्रको पुँजीको संरक्षण गर्न र अन्तरराष्ट्रिय लगानी भित्र्याउन कांग्रेसले जिम्मेवार भएर काम गर्छ,” प्रवक्ता चालिसेले भन्नुभयो। कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा तयार पारेको प्रतिज्ञापत्र आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो।