भक्तपुर, फागुन २ गते । 'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार' बाट जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठसहित तीन जना सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट राष्ट्रका लागि विशिष्ट योगदान पुर्याएबापत उहाँहरूलाई सम्मान गरिएको हो ।
शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष एवं स्वर्गीय देवेन्द्र गौतमकी धर्मपत्नी प्रतिपा गौतमले उहाँहरूलाई सम्मान गर्नुभयो । श्रेष्ठले नेपाली पत्रकारितामा खोजमूलक समाचार, सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर वकालत गर्दै पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । श्रेष्ठले प्राप्त गर्नुभएको पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
यसैगरी करेन्ट पब्लिकेसनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर कार्यरत प्राविधिक हरि थापामगरलाई पनि 'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८२' बाट सम्मान गरिएको छ । त्यस्तै 'चाइना न्युज सर्भिस' का वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप 'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६' प्रदान गरिएको हो । थापामगर र छनयीले प्राप्त गर्नुभएको पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।
पुरस्कार छनोट समितिले अबदेखि यो पुरस्कार स्वर्गीय देवेन्द्र गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ ।