राधा लुइटेल
फिदिम, फागुन २ गते । प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारी स्वरूप पाँचथरको फिदिमस्थित रणशेर गणमा नमुना मतदानका साथै सुरक्षाकर्मीका लागि अनुकरण अभ्यास सम्पन्न गरिएको छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान र अभ्यास गरिएको हो ।
अभ्यासका क्रममा जिल्लाका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना, सुरक्षा फौज परिचालन, मतदान स्थलको तलासी, सुरक्षा समन्वय र शङ्कास्पद वस्तु फेला पर्दा अपनाइने प्रक्रियाबारे प्रयोगात्मक प्रदर्शनी गरिएको थियो । यस्तै भीड तथा हुलदङ्गा नियन्त्रणमा क्रमिक शक्तिको प्रयोग र संयुक्त अपरेसन सेलमार्फत गरिने समन्वयात्मक कार्यशैलीका नमुनासमेत प्रस्तुत गरिएका थिए ।
अभ्यासमा मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित गर्ने, स्कर्टिङ गरी मतगणना स्थलसम्म ढुवानी गर्ने र गणनापूर्व अपनाउनुपर्ने सबै प्रक्रियाका नमुना प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अङ्गका प्रमुख एवं निर्वाचन सम्बद्ध सरोकारवालाको सहभागिता थियो । कार्यक्रमको समापनमा प्रमुख जिल्ला अधिकारीले यस्तो अभ्यासले निर्वाचनका सम्भावित चुनौती सामना गर्न सुरक्षा संयन्त्रलाई थप सुदृढ र सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।