• २ फागुन २०८२, शनिबार

महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

blog

भावना जोशी 
अत्तरिया (कैलाली), फागुन २ गते ।
धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहले जानकारी दिनुभयो ।

शाहले भन्नुभयो, “फागुन ३ गते बिहान ४ बजे मन्दिरका चारै ढोका खुला गरी विधिवत् पूजा प्रारम्भ गरिनेछ । बिहान ८ः३० बजेदेखि बेलुकी ४ः३० बजेसम्म पूर्णआहुती सहित तिलक तथा प्रसाद वितरण गरिने कार्यक्रमसँगै बेलुका ४ बजे ५१ लाख बत्ती प्रज्वलन गरिने छ ।”

बेहडाबाबा मन्दिरमा नेपाली मात्र नभएर भारतीय तीर्थालुहरू ठुलो सङ्ख्यामा भारतबाट पैदल यात्रा गरेर  पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन्  ।  धार्मीक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्धनसँग जोड्न पनि शिवरात्री मेलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ ।