• १ फागुन २०८२, शुक्रबार

ड्रोन विवादमा उत्तरको कडा चेतावनी

blog

सियोल, फागुन १ गते । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बिच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको पछिल्लो ‘खेद’ अभिव्यक्तिलाई विवेकपूर्ण कदम माने पनि भविष्यमा यस्ता गतिविधि नरोके परिणाम गम्भीर हुने सङ्केत गर्नुभएको छ ।

दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ-युङले मङ्गलबार कथित नागरिक ड्रोन उडानप्रति ‘गहिरो खेद’ व्यक्त गर्दै सियोल सरकारले युद्धद्वारा विभाजित दुई राष्ट्रबीच ‘आपसी मान्यता र शान्तिपूर्ण सहअस्तित्व’ चाहेको बताउनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिपछि किम यो जोङको प्रतिक्रिया सार्वजनिक भएको हो ।

उत्तर कोरियाले गत महिना दक्षिण कोरियामाथि सेप्टेम्बर र जनवरीमा आफ्नो भू–भागमाथि निगरानी ड्रोन उडाएको आरोप लगाउँदै प्रतिशोधको चेतावनी दिएको थियो । तर दक्षिण कोरियाली सरकारले निर्दिष्ट मितिमा कुनै आधिकारिक ड्रोन सञ्चालन नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । यद्यपि, सीमावर्ती क्षेत्रबाट ड्रोन उडाएको आशङ्कामा तीन जना सर्वसाधारणमाथि अनुसन्धान भइरहेको कानुन कार्यान्वयन अधिकारीले बताएका छन् ।

किम यो जोङले चुङको अभिव्यक्तिले ‘विवेकपूर्ण व्यवहार’ देखाए पनि सरकारी स्तरको औपचारिक र पर्याप्त कदम नभएको टिप्पणी गर्नु भएको छ । उहाँले सियोलले यस्ता गतिविधि रोक्न कडा र ठोस उपाय अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ । “उत्तर कोरियाको अपरिहार्य सार्वभौमिकता उल्लङ्घन गर्ने उक्साहट दोहोरिए त्यसले भयानक प्रतिक्रिया निम्त्याउने छ”, उहाँले चेतावनी दिनुभयो । 

विभिन्न प्रतिआक्रमण योजना तयार अवस्थामा रहेको र आवश्यक परे तीमध्ये कुनै एक लागु गरिने उहाँले स्पष्ट गर्नु भएको छ । अन्तर-कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कथित ड्रोन उडान तनाव न्यूनीकरणको नीतिसँग मेल नखाने बताउँदै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने जनाएको छ ।

विश्लेषकका अनुसार फेब्रुअरीको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको सम्मेलन हुनुअघि उत्तर कोरियाले दक्षिण कोरिया विरोधी भावना चर्काउने प्रयास गरेको हुनसक्छ । सो सम्मेलनका क्रममा नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा ‘दुई-राज्य’ प्रणालीलाई संवैधानिक रूपमा थप्ने प्रस्ताव अघि सार्न सक्ने अनुमान गरिएको छ ।

सन् २०१९ यता दुई कोरियाबिच कुनै सार्वजनिक वार्ता भएको छैन । पछिल्ला वर्षमा आणविक कार्यक्रमलाई लिएर गहिरिँदै गएको गतिरोध र ड्रोन जस्ता घटनाले वैमनस्य झनै बढाएको छ । यस घटनाक्रमले लामो समयदेखि अवरुद्ध संवाद पुनः सुरु गर्ने प्रयासमा थप जटिलता ल्याउने आँकलन गरिएको छ । रासस/एपी