• १ फागुन २०८२, शुक्रबार

विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी

blog

ढाका, फागुन १ गते । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ । वर्षौंदेखि तीव्र राजनीतिक ध्रुवीकरण र विवादित चुनावले प्रभावित बङ्गलादेशको राजनीतिमा यो परिणामले नयाँ अध्याय सुरु गर्ने सङ्केत दिएको छ ।

निर्वाचन आयोगले अन्तिम आधिकारिक नतिजा सार्वजनिक नगरे पनि स्थानीय सञ्चार माध्यमले ३५० सदस्यीय संसदमा बहुमतका लागि आवश्यक १५१ सिटको सीमा बिएनपीले पार गरेको जनाएका छन् । संसदमा महिलाका लागि आरक्षित ५० सिट विजयी दलबिच आनुपातिक रूपमा बाँडिने व्यवस्था छ । 

विपक्षी इस्लामवादी जमात-ए-इस्लामीले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएको छ, तर बिएनपीको मिडिया एकाइले पार्टीले एक्लै सरकार गठन गर्न पर्याप्त सिट जितेको जनाएको छ । बिएनपी ६० वर्षीय तारिक रहमानको नेतृत्वमा रहेको छ । उहाँ १७ वर्षको स्व-निर्वासनपछि गत डिसेम्बरमा लन्डनबाट स्वदेश फर्किनु भएको हो । 

उहाँ पूर्वप्रधानमन्त्री खालिदा जियाका सुपुत्र हुनुहुन्छ । खालिदाको डिसेम्बरमै निधन भएको थियो । पार्टीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले जनतालाई धन्यवाद दिँदै विजयको बधाई व्यक्त गर्नुभएको छ । रहमानका प्रेस सचिव सालेह सिबलीका अनुसार उहाँले समर्थकलाई विजय उत्सवका र्‍याली नगर्न, बरु नियमित शुक्रबारको नमाजसँगै विशेष प्रार्थना गर्न आह्वान गर्नुभएको छ ।

ढाकास्थित अमेरिकी दूतावासले रहमान र उहाँको दललाई ‘ऐतिहासिक विजय’ भन्दै बधाई दिएको छ । बङ्गलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी. क्रिस्टेनसेनले सामाजिक सञ्जालमार्फत दुई देशबिच समृद्धि र सुरक्षाका साझा लक्ष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितले बङ्गलादेशी जनताको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गर्नुभएको छ भने पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले लोकतान्त्रिक साझेदारी सुदृढ बनाउन इच्छुक रहेको बताउनुभएको छ ।

ऐतिहासिक रूपमा बङ्गलादेशले भारत र पाकिस्तानसँग मिश्रित सम्बन्ध कायम राख्दै आएको छ । सन् १९७१ मा भारतको सहयोगमा पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको कार्यकालमा भारतसँग निकट सम्बन्ध थियो । हसिना गत वर्षको आन्दोलनपछि सत्ताच्युत भई निर्वासनमा जानुभएको थियो । त्यसपछिको अन्तरिम प्रशासन नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन भएको थियो ।

यस पटकको निर्वाचन मुख्यतः बिएनपी र जमात-ए-इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनबिच प्रतिस्पर्धा भएको थियो । स्थानीय टेलिभिजन च्यानलका अनुसार गठबन्धनले कम्तीमा ७७ सिट जित्दै उल्लेखनीय उपस्थिति जनाएको छ । जमात-ए-इस्लामीका प्रमुख शफिकुर रहमानले ढाकाबाट जित हासिल गर्नुभएको छ र संसद्मा प्रमुख विपक्षी नेताका रूपमा देखिनु भएको छ । तर पार्टीले धेरै क्षेत्रमा नतिजा घोषणा गर्न ढिलाइ र अनियमितता भएको आरोप लगाएको छ । विद्रोहका विद्यार्थी नेताले स्थापना गरेको नेसनल सिटिजन पार्टीले पनि केही सिट जित्दै आफ्नो उपस्थिति जनाएको छ । पार्टी प्रमुख नाहिद इस्लामसहित शीर्ष नेता निर्वाचित भएका छन् ।

यो मतदानलाई बङ्गलादेशको लोकतन्त्रका लागि महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको थियो । जुलाई २०२४ को आन्दोलनले शेख हसिनालाई सत्ताबाट हटाएपछि सम्पन्न पहिलो चुनाव भएकाले यसलाई लोकतान्त्रिक विश्वास पुनः स्थापित गर्ने अवसरका रूपमा लिइएको थियो । साथै, प्रधानमन्त्रीको कार्यकाल सीमित गर्ने र कार्यकारी शक्तिमा नियन्त्रण कडा पार्ने प्रस्तावसहितको जनमतसङ्ग्रह पनि सँगै सम्पन्न भएको छ, जसको नतिजा सार्वजनिक हुन बाँकी छ ।

पछिल्ला १५ वर्षमध्ये अधिकांश समय बिएनपी विपक्षमा रह्यो र उसले चुनावी अनियमितता तथा राजनीतिक दमनको आरोप लगाउँदै केही निर्वाचन बहिष्कारसमेत गरेको थियो । तारिक रहमानविरुद्ध लगाइएका भ्रष्टाचार तथा अन्य मुद्दा हसिनाको सरकार पतनपछि खारेज गरिएका थिए । उहाँले ती आरोपलाई राजनीतिक रूपमा प्रेरित बताउँदै अस्वीकार गर्नु भएको थियो ।

बिएनपी र अवामी लिगबिचको लामो प्रतिस्पर्धाले बङ्गलादेशको राजनीतिक दिशा निर्धारण गर्दै आएको छ । विश्लेषकले भने नयाँ सरकारमाथि सुशासन, पारदर्शिता र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने ठोस दबाब रहने उल्लेख गरेका छन् । रासस/एपी