सन्तोष राउत
सोलुखुम्बु, फागुन १ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ ।
आर्थिक वर्ष २०८१-८२ का लागि गरिएको मूल्याङ्कनमा ७५३ स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकाले ७८.५० अङ्क प्राप्त गर्दै प्रदेश तथा जिल्लामै उत्कृष्ट स्थानमा परेको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ । सोही मूल्याङ्कनमा थुलुङ दुधकोशी गाउँपालिकाले ६३.७९ अङ्क सहित दोस्रो भएको छ ।
त्यस्तै, माप्य दुधकोशी गाउँपालिका ६३.० अङ्कसहित तेस्रो स्थानमा छ भने खुम्बु पासाङल्हामु गाउँपालिकाले ६२.३६ अङ्क प्राप्त गरेका छन् । यसैगरी महाकुलुङ गाउँपालिकाले ५७.८१, लिखुपिके गाउँपालिकाले ५४.४३, नेचासल्यान गाउँपालिकाले ५१.६३ र सोताङ गाउँपालिकाले ५१.३४ अङ्क प्राप्त गरेका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा आयोगले स्थानीय तहको मूल्याङ्कन गर्दा विभिन्न १७ वटा सूचकलाई आधार बनाएको छ । सोलुदुधकुण्ड नगरपालिका देसका ७५३ स्थानीय तहमा चौथो र कोशी प्रदेशमा पहिलो भएपछि आफूहरू सेवा प्रवाह तथा विकास निर्माण नियमसङ्गत रूपमा काम गरिरहेकोले प्रतिफल राम्रो आएको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।
‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनताप्रति प्रतिबद्ध नेतृत्वको प्रतिफल हो । हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवा–मुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ,’ नगर प्रमुख शेर्पाले भन्नुभयो ।
सकारात्मक सोचका धनी आम नगरवासी, जिम्मेवार जनप्रतिनिधि तथा मिहिनेती र इमानदार कर्मचारीहरूको साझा प्रयास, समर्पण र निरन्तर योगदान तथा सबैको सहकार्य, एकता र अटल प्रतिबद्धताकै परिणामस्वरूप यो गौरवपूर्ण उपलब्धि सम्भव भएको उहाँको भनाइ छ ।
नगर प्रवक्ता फुर्वाग्याल्जेन शेर्पाले प्रेस विज्ञप्ती प्रकाशन गर्दै सोलुदुधकुण्ड नगरपालिकाले विगतदेखि नै कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै, बेरुजु शून्य कायम राख्दै, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्दै तथा गुणस्तरीय विकास–निर्माणका कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको बताउनुभएको छ । यस उपलब्धिले नगरपालिकाको सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रति देखाएको दृढ प्रतिबद्धतालाई थप पुष्टि गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसअघि महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार बेरुजु कम गर्दै देशभरका ७५३ स्थानीय तह मध्ये राष्ट्रिय स्तरमा दोस्रो र कोशी प्रदेशमा पहिलो भएको थियो । नगरपालिकाको कुल एक अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत, अर्थात् एक लाख २१ हजार आठ सय रुपियाँ मात्र बेरुजु देखिएको हो ।