सिराज खान
नेपालगन्ज, फागुन १ गते । बाँके जिल्लाका आठ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिकाले ७१.९९ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ ।
स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा खजुरा गाउँपालिकाले जिल्लाका अन्य सात पालिकालाई पछि पार्दै आफूलाई पहिलो स्थानमा पुर्याएको हो ।
खजुराले ७१.९९ प्रतिशतका साथ जिल्लामा प्रथम स्थान प्राप्त गर्दा डुडुवा गाउँपालिका भने ४९.९७ प्रतिशतका साथ जिल्लामा सबैभन्दा अन्तिम स्थानमा रहेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा कोहलपुर नगरपालिकाले ६५.७६ प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो, बैजनाथ गाउँपालिकाले ६४.०६ प्रतिशत अङ्क प्राप्त गरेर तेस्रो, जानकीगाउँपालिकाले ५८.६७ अङ्क प्राप्त गरेर चौथो स्थान हासिल गरेको छ ।
सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकाले ५६.४५ प्रतिशत अङ्क पाएर पाँचौ, राप्ती सोनारी गाउँपालिकाले ५४.०० प्रतिशत अङ्क पाएर छैठौं, नरैनापुर गाउँपालिकाले ५२.११ प्रतिशत अङ्क पाएर सातौं तथा डुडुवागाउँपालिकाले ४९.९७
प्रतिशत अङ्क पाएर अन्तिम तथा आठौं स्थानमा रहेको छ ।
खजुराको यो सफलतालाई पालिकाको राजनीतिक र प्रशासनिक नेतृत्वले ‘सामूहिक प्रयास र इमान्दारिता’ को परिणामको रूपमा व्याख्या गरेको छ ।
गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले यस उपलब्धिलाई सम्पूर्ण खजुरावासीको जीत बताउँदै जिल्लामै पहिलो हुनुले आफुहरुलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताउनुभयो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले योजनाहरूको प्रभावकारी अनुगमन र लक्षित वर्गको कार्यक्रममा पारदर्शीता अपनाइएकाले यो सफलता सम्भव भएको बताउनुभयो ।
प्रशासनिक तर्फबाट नेतृत्व गरिरहनु भएका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कर्मचारीहरूको मेहेनत र राजनीतिक नेतृत्वसँगको उत्कृष्ट समन्वयले पहिलो हुन सफल भएको बताउनुभयो ।
यस्तै, वरिष्ठ लेखा अधिकृतले बेरुजु न्यूनीकरण र बजेटको मितव्ययी प्रयोगमा शून्य सहनशीलता अपनाएकै कारण यस्तो सफलता मिलेको दावी गर्नुभयो ।