• १ फागुन २०८२, शुक्रबार

कार्यसम्पादन मूल्याङ्कनमा गौर नगरपालिका पहिलो, देवाही गोनाही अन्तिम

blog

कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै प्रथम हुने रौतहटको गौर नगरपालिका। तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
रौतहट, फागुन १ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम भएको छ। गौर नगरपालिकाले ६६ दशमलव १७ अङ्क प्राप्त गर्दै जिल्लाका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो।

आयोगद्वारा प्रकाशित प्रतिवेदनअनुसार राजपुर नगरपालिकाले ५९ दशमलव ९६ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने बौधीमाई नगरपालिकाले ५९ दशमलव ७४ अङ्क ल्याउँदै तेस्रो स्थान प्राप्त गरेको छ। इशनाथ नगरपालिकाले ५९ दशमलव ५९ अङ्क, मौलापुर नगरपालिकाले ५८ दशमलव ९७ अङ्क तथा परोहा नगरपालिकाले ५७ दशमलव १४ अङ्क प्राप्त गरेका छन्।

त्यसैगरी राजदेवी नगरपालिकाले ५२ दशमलव ५१, माधवनारायण नगरपालिकाले ५२ दशमलव ४०, चन्द्रपुर नगरपालिकाले ५० दशमलव ९० र गुजरा नगरपालिकाले ४८ दशमलव ७३ अङ्क प्राप्त गरेका छन्। गढीमाई नगरपालिकाले ४६ दशमलव २०, यमुनामाई गाउँपालिकाले ४६ दशमलव ०६, गरुडा नगरपालिकाले ४३ दशमलव ८४, कटहरिया नगरपालिकाले ४३ दशमलव ७५, दुर्गा भगवती गाउँपालिकाले ४२ दशमलव ६०, फतुवा विजयपुर नगरपालिकाले ३५ दशमलव ४१ र वृन्दावन नगरपालिकाले ३१ दशमलव ६९ अङ्क प्राप्त गरेका छन्।

देवाही गोनाही नगरपालिकाले ३० दशमलव ९१ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये अन्तिम स्थान हासिल गरेको छ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले उक्त उपलब्धि समग्र नगरवासीको भएको बताउँदै यस नतिजाले संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई अझ नतिजामुखी र पारदर्शी बनाउन थप ऊर्जा मिलेको बताउनुभयो। स्थानीय सरकारप्रति जनताको विश्वास सुदृढ बनाउन पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले जानकारी दिनुभयो। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

आयोगले बजेट तथा राजस्व व्यवस्थापन, लेखापरीक्षण, सेवा प्रवाह, शिक्षा तथा स्वास्थ्यसम्बन्धी उपलब्धि, राजस्व परिचालन, योजना तर्जुमा, बेरुजु व्यवस्थापन, खोप तथा मातृस्वास्थ्य सेवा लगायत १७ सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ।