• १ फागुन २०८२, शुक्रबार

सिमेन्टको धुलो र धुवाँ प्रमुख चुनावी एजेन्डा बन्दै

blog

घोराहीको गोग्लीस्थित घोराही सिमेन्ट उद्योग । तस्बिर : सन्तोष दहित

दाङ समाचारदाता

दाङ, फागुन १ गते । घोराही उपमहानगरपालिका अन्तर्गतका सुनपुरका स्थानीय बासिन्दा पछिल्ला वर्षमा सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ र ठुला तथा निरन्तरको आवाजका कारण निकै चिन्तित भइरहेका छन् । सिमेन्ट उद्योगका कारण गाउँभरिका कुवा र धारा सुक्न थालेका छन् । खेतबारी बाँझा बन्दै गएका छन् । हावामा सिमेन्टको धुलो मिसिँदा जनजीवन कठिन बन्दै गएको स्थानीयको गुनासो छ ।

सिमेन्ट उद्योग सञ्चालन भएपछि गाउँ वरपरका कुवा सुक्न थालेको घोराही सुनपुरका हिमलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँमा अहिले पानीको ठुलो समस्या देखिएको छ । खेतबारीमा बाली सुक्छ, कुला र नालीमा माटो होइन, सिमेन्टको धुलो मात्र पाइन्छ ।” 

उहाँका अनुसार धुलोका कारण मानिससँगै घरपालुवा जनावरसमेत रोगी बन्न थालेका छन् । उहाँले गुनासो गर्दै भन्नुभयो, “हामीले हाम्रो समस्या समाधान होस् भनेर यसअघि पटक पटक जनप्रतिनिधिलाई जिताएर पठायौँ तर हाम्रो अवस्था जस्ताको तस्तै छ । चुनावका बेला गरेका वाचा नेताले बिर्सिन्छन् । हाम्रो मतले कोही सांसद, कोही मन्त्री बने तर सिमेन्ट उद्योगकै धुलोमा हामी अझै बिरामी परेका छौँ ।” 

उहाँले भन्नुभयो, “अब जसले सिमेन्ट उद्योगको धुवाँ, धुलो र ठुलठुलो आवाज नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँछ, हामी उसको साथमा रहने छौँ । यस पटक मत हाल्दा निकै सोच्नुपर्ने अवस्था आएको छ, त्यसैले हामीलाई नयाँ वा पुरानो होइन, हाम्रो यहाँको समस्या समाधान गर्ने नेतृत्व चाहिएको हो।”

सोही वडाका अर्का स्थानीय राजेश चौधरीले पनि उद्योगको असरले जनजीवन अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भन्नभयो, “उद्योग रातभर सञ्चालन हुँदा न रामरी निद्रा पर्छ,  न त स्वच्छ हावा सास फेर्न पाइन्छ । हामीले उद्योग हटाउन भनेका होइनौँ तर यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु पर्छ भन्ने हाम्रो माग हो ।” उहाँले अहिले स्थानीयले जोकोही उम्मेदवारसँग यही सिमेन्ट उद्योगको नियमन र धुलो नियन्त्रणको विषयलाई पहिलो मागका रूपमा उठाइरहेको बताउनुभयो । त्यसै गरी सोही वडाका विनोद घिमिरेका अनुसार सिमेन्टको धुलोका कारण गाउँमा दिनानुदिन बिरामी बढ्दै गएका छन् । उहाँले भन्नुभयो, “अहिले पनि सिमेन्टको धुलो नियन्त्रणमा ध्यान दिइएन भने अबको केही वर्षमा यहाँका स्थानीयको स्वास्थ्यमा दीर्घकालीन समस्या आउने निश्चित छ । तसर्थ यी समस्यालाई दीर्घकालीन समाधानका लागि अबको उम्मेदवार, दल र राज्यले बनाउनु पर्छ ।” घोराही–४, गोग्लीमा रहेको घोराही सिमन्ट उद्योग बस्तीबिचमै सञ्चालन भइरहेको छ । त्यसैले नियमन र नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्नुपर्ने माग स्थानीयले तीव्र रूपमा उठाइरहेका छन् । 

घोराही–४ का बासिन्दाले अबको चुनावमा सिमेन्ट उद्योगको असर र नियन्त्रणको मुद्दालाई नै प्रमुख चुनावी एजेन्डा बनाउन राजनीतिक दलसँग आग्रहसमेत गर्दै आएका छन् । उद्योगलाई नियमन गरी जनतालाई राहत दिन केही कानुनी उपचार खोज्दा उल्टै जनप्रतिनिधिलाई मुद्दा लगाएर तारिख बोकाउने काम भइरहेको स्थानीय हिमलाल चौधरीले बताउनुभयो ।