बोमलाल गिरी
नवलपुर, फागुन १ गते । श्रीमद्भागवतमा उल्लेख गरिएको कथा अनुसार भगवान् श्रीकृष्णका १६ हजार १०८ रानी थिए । उनीहरू स्वयं श्रीकृष्णको व्यक्तित्वबाट मोहित भएर आफैँ श्रीमान् कल्पिएर श्रीमतीकै रूपमा बसेका थिए । उनीहरूकै नामबाट यहाँ गाईको नामकरण गरिएको छ । त्यसैले सबैलाई तपाईं भनेर सम्बोधन गरिन्छ ।
श्रीकृष्णका दाजु तथा गोकुलका राजा नन्द र यशोदाका पुत्र ‘बलराम’ जो विष्णुका २४ अवतारमध्ये एक हुन्, उनलाई शेषावतार पनि भनिन्छ । तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए । सोही कथा अनुसार सबैलाई बिउ लाग्ने एउटा बहर गोरु छ; जसलाई ‘बलराम’ नाम दिइएको छ ।
झट्ट सुन्दा कृष्णलीला जस्तो लाग्ने यो दृश्य हो– नवलपरासीको सुस्ता–२, सतपट्टीका कृष्ण पाण्डे र पार्वती पाण्डेको । २७ वर्षसम्म अमेरिका बसेर फर्कनुभएका पाण्डे दम्पतीले यहाँ
भकारो स्याहार गर्नुभएको छ । उहाँहरूले ‘आमा एकीकृत गाई फार्म’ दर्ता गरी अत्याधुनिक प्रविधिबाट गाईपालन गर्नुभएको छ ।
गुजरातको जङ्गलमा पाइने गिर, हरियाणाको हरियाणी, साहीवाल, राठी, थारपाकर र केही स्थानीय गरी ३० वटा गाईबाट सुरु गरेको व्यवसाय कृष्णका रानी जस्तै १६ हजारभन्दा बढी पु¥याउने योजना रहेको पाण्डेले सुनाउनुभयो । तीमध्ये अहिले भारतबाटै खरिद गरिएका ब्राजिलियन मूलका सबैभन्दा धेरै १६ वटा गिर गाई छन् । यिनको विशेषता भनेको शान्त स्वभाव अनि धेरै दुध दिनु हो ।
अग्लो जुरो र जिउडाल, सिङ पनि कपाल जस्तै लरक्क तल लर्केका, एउटै रङ, मायालु स्वभावका यी गाईसँग खेल्न पाउँदा छुट्टै आनन्द आउने पाण्डेको अनुभव छ । “म पारि आएको गन्धले नै थाहा पाउँछन्, खान दिन्छ कि भनेर पछि पछि लाग्छन् । यिनको वरिपरि हुन पाउँदा म सबैथोक बिर्सन्छु,” उहाँले भन्नुभयो ।
एउटा गाईको मूल्य नै एक लाख भारुभन्दा बढी पर्ने र त्यसले दैनिक १५ देखि २५ लिटरसम्म दुध दिने उहाँको भनाइ छ । गाई खरिद र गोठ निर्माणमा नै दुई करोडभन्दा बढी लगानी भइसकेको पाण्डेले बताउनुभयो तर अहिले भने सुरुवात भएको र हुर्कंदा बाच्छीहरू भएकाले दुध बेच्ने अवस्थामा उहाँ पुग्नुभएको छैन । यी जातका गाई पाल्ने सम्भवतः आफू नै पहिलो नेपाली भएको उहाँको भनाइ छ ।
“अमेरिका बस्ने नेपालीको अवस्था भोगेँ, नेपालका किसानको जीवनशैली देखेँ, भगवान्को देन जस्तो पनि लाग्छ, अब नेपाल फर्केर भित्री मनदेखि गाईपालन गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले यो व्यवसायमा हात हालेँ,” पाण्डेले भन्नुभयो । गहुँत र गोबरलाई पनि सदुपयोग गर्नका लागि जुरो भएका गाई मात्र पाल्ने र जर्सी गाईलाई प्राथमिकता नदिने उहाँको भनाइ छ ।
कृत्रिम गर्भाधानबाट बाच्छी
प्रविधिको प्रयोग बढेसँगै तराईमा गोरुले खेतबारी जोत्ने चलनको त लगभग अन्त्य नै भइसकेको छ । तराईमा गाडा तान्न प्रयोग हुने चलन पनि विस्तारै नासिँदै गएपछि गोरुको महत्व नै घट्दै गएको छ ।
त्यसैले व्यावसायिक रूपमा गाईपालन गर्ने किसान बाच्छी मात्र जन्माउने प्रविधितिर तानिन थालेका छन् ।
त्यसमाथि गिर गाईको एउटै बाच्छीलाई डेढ लाख रुपियाँभन्दा बढी पर्न थालेपछि गोरुको के काम ? त्यसैले पाण्डेले पनि कृत्रिम गर्भाधानमार्फत बाच्छी मात्र जन्माउने प्रविधि भित्र्याउनुभएको छ ।
गोरुको शुव्रmकिटलाई प्रयोगशालामा मिलाएर गाईमा परिणत हुने ब्राजिलियन प्रविधि हो । यो भारतमा प्रचलित छ । त्यसलाई सुईमार्फत गाईमा लगाएपछि ९९ प्रतिशत बाच्छी मात्र जन्मने चिकित्सकहरूको दाबी रहे पनि आफूहरू ९० प्रतिशत ढुक्क रहेको पाण्डेले बताउनुभयो । यो प्रविधि भर्खर मात्र सुरु भएकाले कति सफल हुन्छ भनेर एक वर्ष कुर्नुपर्ने उहाँले बताउनुभयो ।