• २९ माघ २०८२, बिहिबार

उम्मेदवारलाई हलोजुवा र डोको उपहार

blog

हलो जुवा र डोको उपहार लिनुहुँदै एमाले नेता साह । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, माघ २९ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न गएका रौतहट क्षेत्र नम्बर ४ का एक उम्मेदवारलाई मतदाताले कृषि औजार उपहार दिएका छन् । 

उक्त क्षेत्रको चन्द्रपुर नगरपालिका १ फुलबारीका मतदाताले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रामजी साहलाई एमालेले गरिब तथा किसानको सुख दुःखमा साथ दिनु पर्छ भन्दै उपहारस्वरुप हलोजुवा र डोको दिएका हुन् । 

स्थानीय जयसिङ् थिङले भोट माग्न आउनुहुने जुनसुकै नेतालाई किसानको जीवनसँग जोडिएको प्रतिकात्मक सामग्री उपहार दिइने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “किसानको जीवन हलोजुवा र डोकोमै अडिएको छ । जनताको लागि काम गर्ने नेता पनि यहीँको माटो र पसिनासँग जोडिएको हुनु पर्ने भन्दै कृषि सामाग्री उपहार दिएका हौँ ।”

अधिकांश कृषि क्षेत्रमा आवद्ध उक्त स्थानका मतदाताले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास र जग्गाधनी पुर्जा वितरणजस्ता दीर्घकालीन समस्या समाधान गर्न नेता साहलाई अपिल गरेका छन् । यसैबीच उम्मेदवार साहले जनभावनाको उच्च सम्मान गर्नुहुँदै किसान र विपन्न वर्गको पक्षमा आफु निरन्तर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

रौतहटको उत्तरी चुरेक्षेत्रमा अवस्थित उक्त स्थानमा अहिलेसम्म कुनै पनि नेता भोट माग्न नगएको समेत स्थानीय मतदाताको गुनासो छ ।