गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
स्थानीय तहको समन्वयमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट सम्बन्धित स्थानीय तहको वडाका लागि मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरी देशभरका वडामा घरदैलो तथा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको हो । निर्वाचन आयोगले जारी गरेको मतदाता शिक्षा विशेष कार्यक्रम अन्तर्गत गाउँपालिका र नगरपालिकाको वडा कार्यालयबाट आगामी फागुन ३ देखि १७ गतेसम्म घरदैलो तथा विद्यालयस्तरमा मतदाता शिक्षा कार्यक्रम परिचालन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नीता पोखरेलले मतदातालाई तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्ने विविध क्रियाकलापमध्ये मतदाता शिक्षा विशेष कार्यक्रमसमेत निर्वाचन आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
आयोगले मतदाता शिक्षा विशेष कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहको निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनकर्ता तोकेको छ ।