• २९ माघ २०८२, बिहिबार

घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २९ गते । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्ना प्रतिबद्धता तथा सङ्कल्पसहित नेपाली कांग्रेसले फागुन २ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ । १० वटा प्राथमिकताका क्षेत्र निर्धारण गरी १० वर्षमा सम्पन्न गर्ने गरी नेपाली कांग्रेसले ‘मिसन टेन’ नामक सङ्कल्पपत्र सार्वजनिक गर्न लागेको हो । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीसँग कुराकानी गर्र्दै घोषणापत्रलाई यस पटक पूरा गरेरै छाड्ने सङ्कल्पपत्रका रूपमा सार्वजनिक गरिने बताउनुभयो ।

प्रवक्ता चालिसेले भन्नुभयो, “घोषणापत्र सार्वजनिक गर्ने र कार्यान्वयन नगर्ने विगतको गलत परम्परालाई तोड्दै कांग्रेसले कार्यान्वयनको योजनासहित घोषणापत्रलाई सङ्कल्पपत्रका रूपमा सार्वजनिक गर्ने छ ।” शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, पर्यटन, कृषि, विज्ञान तथा प्रविधिका क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै विषयविज्ञको सहभागितामा घोषणापत्र तयारी भइरहेको जनाइएको छ । 

यसैबिच प्रवक्त चालिसेले पार्टीलाई एकताबद्ध बनाई आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचारप्रसारमा ल्याउने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । विशेष महाधिवेशनपश्चात् पूर्वसभापति देउवालगायत केही नेता निष्क्रिय रहनुको कारणबारे सञ्चारकर्मीको जिज्ञासामा चालिसेले विभिन्न माध्यमबाट पूर्वसभापति देउवासँग समन्वय र संवादको प्रयास भइरहेको र केही दिनभित्र नै त्यसका परिणाम सार्वजनिक हुने पनि बताउनुभयो । 

उहाँले जेनजी आन्दोलनपछि तत्कालीन सभापति देउवाले केन्द्रीय समितिमा राख्नुभएको वक्तव्य जस्तै वर्तमान सभापति गगनकुमार थापा र पूर्वसभापति देउवाले संयुक्त वक्तव्य जारी गरी पार्टी एकताबद्ध रहेको सन्देश दिनेबारे पनि गृहकार्य भइरहेको बताउनुभयो । निर्वाचनअघि पूर्वसभापति देउवाले एकताको सन्देश दिएमा कांग्रेसका पक्षमा ठुलो लहर सिर्जना हुने सम्भावना रहेको प्रवक्ता चालिसेले बताउनुभयो ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पूर्वसभापति देउवा र उहाँपक्षीय नेतालाई उपेक्षा त गरिरहेको छैन भन्ने जिज्ञासामा चालिसेले भन्नुभयो, “पार्टीभित्र समूल एकता भए, त्यो सबैभन्दा बलियो पक्ष हुन्छ, यसले कांग्रेसभित्र ठुलो जनलहर नै सिर्जना हुन्छ । हाम्रो यो सबल पक्षलाई उपयोग नगर्ने भन्ने कुरा नै हुँदैन ।”